आमा, गरिबी, अभाव र जीवन-शिक्षा

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ बैशाख ३, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

“आमा ! भोक लाग्यो ।”
बालापनमा जब पेटमा मुसा कराउँथे, दगुर्दै गएर आमाको फरिया समाउँथेँ । सताउँथेँ । आमाले गोठमा गोबर-सोत्तर गर्दै हुनुहुन्थ्यो ।

“खह्रो भएर जाक्किन्नस् ।” आमाले थर्काउनुहुन्थ्यो ।

आमाप्रति क्रोधको ज्वालामुखी जागृत हुन्थ्यो, त्यो बेला ।
पेटमा भोकले हड्ताल गरिरहेको हुन्थ्यो ।
आफैं केही खाने उपति पनि हुन्नथ्यो, चोरेर सिवाय ।
आमाकै भर पर्नुको विकल्प विकल्पहीन हुन्थ्यो ।

आमाको आँखा छलेर चोरेर खाऊँ भने पनि घरमा केही हुन्नथ्यो । सिर्फ गरिबी र अभावको डङ्गुर थुप्रिएका हुन्थे, घरका भित्ता-भित्ता र भाँडाहरूमा पनि ।
कास गरिबी र अभाव चोरेर खान मिल्थ्यो भने……… ।

“खह्रो भएर जाक्किन्नस्” अर्थात् भोक लागेर मर्दैनस् भन्दै आमाले बारम्बार हप्काउनुहुन्थ्यो । म आमाले नदेख्ने ठाउँमा गएर रोइदिन्थेँ ।
रोइदिन्थेँ ? म कसको लागि रोइदिन्थेँ र ? आमाको लागि ?
कठै ! आमाको मन !
सन्तानलाई जति गाली गर्छिन्, उल्टै आमाको आफ्नै मन दुख्छ ।

अन्त्यमा मलाई खोज्दै आउनुहुन्थ्यो । आफ्नो पिठ्यूँमा बोकेर घर लैजानुहुन्थ्यो । केही पाकुन्जेल मलाई सुताउनुहुन्थ्यो । पाकेपछि उठाएर खुवाउनुहुन्थ्यो ।
………

“आमा ! भोक लाग्यो ।”

म फेरि ढोकाबाट भोकलाई अतिथि बनाएर आमाको समीप लगेँ ।
आमाले घुरनले चुल्होमा आगो सल्काउँदै हुनुहुन्थ्यो ।
“भोक लाग्यो भने बाहिर सँघारमा गएर भुक् । ”

आमाले एक थप्पड बजाउनुभयो । आमाको गाली र चुटाइले जाँघेमा नै मूत्र-विसर्जन गर्न पुगेछु । रुँदै ठूला-ओछ्यानमा गएर बसेँ । र, घोप्टो मुन्टो लगाएर सुत्थें ।

केही पाकेपछि आमाले उठाउन आउनुहुन्थ्यो । आमालाई दङ्लाउँथें । खान मन छैन भन्दै सताउँदथेँ ।

“”खान आउँछस् कि फेरि डाडुले हिर्काम् ?””
आमाले ममता मिसाएर डर देखाउनुहुन्थ्यो । म खुरुक्क लाएर खान जान्थेँ । नजिकै जान डर लागेर टाढै बसेर थाल माग्दथेँ ।
………
आमाले “खह्रो भएर जाक्किन्नस् । भोक लाग्यो भने सँघारमा गएर भुक्” इत्यादि भनेर हप्काइरहेपछि जीवनमा त्यसपछि कहिल्यै “आमा ! भोक लाग्यो” भनेर सताइनँ, आमालाई ।

आमाका ती वचनले गरिबी, अभाव र भोकमा पनि बाँच्न सिक्नुपर्ने रहेछ भन्ने अदृश्य शिक्षा ग्रहण गरेँ ।
जति भोक लागेपनि आमालाई भोक लाग्यो भन्दिनँ भन्ने प्रण गरेँ । बिस्तारै मनोविज्ञान त्यस्तै बन्दै गयो । भोक लाग्छ भन्ने मानसिकतालाई नै तिलञ्जली दिएँ, सदाको लागि ।

अभाव जस्तो ठूलो गुरु के हुन्छ र जीवनमा ! अभावले जो कोहीलाई आफ्नो काखमा सुताएपछि फेरि सुत्न नपर्ने गरी मन्त्र सिकाएर उठाइदिँदो रहेछ । त्यस्तै सिकायो जीवनमा, सिकेँ ।

हिजो अभावसित शीतयुद्ध चल्थ्यो ।
आज अभावलाई प्रणिपात अर्थात् प्रणाम गर्न मन लाग्छ ।

© कवीन्द्र लम्साल ।

ताजा अपडेट

खोजी गर्नुहोस