बैशाख ५,काठमाडौँ । पेरुका पूर्व राष्ट्रपति एलन गर्सियाले आफूमाथि नै गोली चलाएका छन् । घुस जाँचको सम्बन्धमा उनको घरमा पुलिस पुगेपछि पूर्व राष्ट्रपति गर्सियाले आफूमाथि नै गोली चलाएका हुन् ।
स्थानीय टीभी च्यानलका अनुसार, ६९ वर्षीय गर्सियालाई तुरुन्त अस्पताल लगिएको थियो, जहाँ सर्जरीपछि उनी कोमामा पुगेका थिए । कोमामा पुगेको केही घण्टामा नै उनको निधन भएको उनका वकिलले बताए ।
गर्सिया आफ्नो प्रभावशाली भाषणका कारण चर्चित छन् । उनी दुई पटक पेरुको राष्ट्रपति भैसकेका छन् । सन् १९८५–९० र २००६–११ मा उनले राष्ट्रपतिको पदभार सम्हालेका थिए ।
ब्राजिलको एक निर्माण कम्पनीसँग जोडिएको सम्बन्धमा पूर्व राष्ट्रपति गर्सिया जाँचको घेरामा थिए । जाँच चलिरहँदा उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो । त्यसपछि उनले उरुग्वेसँग राजनीतिक शरण मागेका थिए तर उनलाई मञ्जुरी दिइएन ।