नेपाल कम्युनिष्ट पार्टी यतिबेला भ्रातृ संस्था एकीकरण गर्ने प्रकृयामा छ । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टी नेताहरु कार्यकर्ताको मनोबलको सवालमा केही बहस उठिरहेका छन् । यिनै सवालको विषयमा नेकपा स्थायी समिति सदस्य भीमप्रसाद आचार्यसंग अनलाईन केन्द्रले कुराकानी गरेको छ ।
नेकपाभित्र अहिले के गतिविधि भइरहेको छ ?
– नेकपा एमाले र माओवादी केन्द्र जेठ ३ गते एकीकरण भएको घोषणा भएको हो । त्यसपछि ३ महिनाभित्रमा पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय, नगर, गाउँ कमिटी, वडा र प्रारम्भिक कमिटी गठन गरिसक्ने तथा भ्रातृ संस्थाको तलैदेखि एकीकरण गरिसक्ने भन्ने योजना हामीले बनाएका थियौं । यो बीचमा पार्टी नेताहरुको व्यस्तताको कारणले हामीले नियमावली र विधानमा केही कुरा छलफल गर्न बाँकी नै छ । विधान, नियमावली र राजनीतिक दस्तावेजमा छलफल गरेर अन्तिम पोलिसिङ गर्ने कामहरु बाँकी रहेको छ । पार्टीको प्रदेश, जिल्ला र तल्ला कमिटीको आकार र प्रकृयाका बारेमा अलिकति प्रष्टता गर्न बाँकी नै रहेको हुनाले हामी त्यसमा जुटिरहेका छौं । केही ढिलाइ भएको छ, यो बीचमा स्थायी कमिटी सदस्यले सबै चिज अध्ययन गरेर प्रधानमन्त्रीसँग बैठक बस्छ । त्यो बैठकले यी दस्तावेजहरुमा फाइनल टच गरिसकेपछि त्यसको गाइड लाइनमा कमिटीहरु एकीकृत हुँदै जान्छन् । यद्यपि तोकिएको समयभित्र मोटामोटी सबै प्रकृया टुगिन्छ भन्ने लाग्छ ।
पार्टीलाई कसरी लैजाने दस्तावेज बन्दैछ हो ?
– पार्टी एकीकरणका प्रकृया र आवश्यक संख्यात्मक व्यवस्था तय भएपछि एकीकरण गर्ने कार्यदल सबैतिर बनिसकेका छन् । त्यो कार्यदलले सघन ढंगले काम अघि बढाउँछ । र, सबै कुरोको टुंगो लगाउँछ ।
नेकपा कसरी अघि बढ्दैछ ?
– हामीले जनवादी क्रान्ति सम्पन्न ग(यौं, त्यसको संविधान संस्थागत पनि गयौं । तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ । शक्तिशाली सरकार केन्द्रमा बनेको छ । ६ वटा प्रदेशमा सरकार कम्युनिष्ट पार्टीको छ । स्थानीय तहमा पनि दुईतिहाइ बहुमतको कम्युनिष्ट पार्टीको सरकार छ । यस्तो अवस्थामा मूलभूत रुपले संविधानमा जनताको अधिकार उल्लेख गरेको छ, त्यसको कार्यान्वयन गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने, आर्थिक समृद्धिका विकासका कामलाई अघि बढाउने, पूर्वधारको निर्माण गर्ने, उत्पादन वृद्धि गर्नेलगायतको कार्यभार हामीमाझ आएको छ । यसलाई केन्द्रविन्दूमा राखेर हामी योजना बनाउँछौं ।
शीर्ष नेताहरु देशबाहिर रहेकाले पार्टी गतिविधि सुस्त देखिएको हो ?
– सुस्ताएको भन्न मिल्दैन, यसबीचमा प्रधानमन्त्रीको चीन भ्रमण पर्यो। चाइना भ्रमणको तयारी सन्दर्भमा प्रधानमन्त्री भएकै कारण अथवा अन्य कारणले पार्टीका नेताहरुको व्यस्तता रह्यो । प्रकृयागत कुरा टुंगो लगाउन केही ढिला चाहिँ भएकै हो ।
कुराकानी अडियोमा सुन्नुहोस् ।