एक वर्षमा साढे चार लाख पर्यटक भित्रिए

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १०, सुर्खेत। कर्णाली प्रदेशमा एक वर्षमा साढे चार लाख पर्यटक भित्रिएका छन् । चार लाख ५४ हजार ८ सय ६४ आन्तरिक र २१ हजार २ सय ९१ बाह्य पर्यटक गरी चार लाख ७६ हजार १ सय ५५ पर्यटकले कर्णाली पुगेका हुन् ।

प्रदेश सरकारले २०७५ सालमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ वैशाख १ गते राराबाट कर्णाली–रारा पर्यटक वर्षको उद्घाटन गर्नुभएको थियो । पर्यटन वर्षमा सरकारले निर्धारण गरेको लक्ष्य प्राप्त नभए पनि पछिल्लो समय कर्णालीमा आन्तरिक र बाह्य पर्यटकको पर्यटकहरुको चहलपहल उत्साहजनक रहेको सरकारले दाबी गरेको छ ।

कर्णाली–रारा पर्यटन वर्षको घोषणासँगै कर्णालीमा आन्तरिक पर्यटकको गतिशीलता सन्तोषजनक रहेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए ।

आन्तरिक मात्र नभएर पछिल्लो समय कर्णालीमा बाह्य पर्यटकको आगमन पनि बढेको मन्त्रालयले जनाएको छ । यसअघि सुर्खेत, मुगु, हुम्ला र डोल्पामा मात्र बाह्य पर्यटक आउने गरेकोमा यस वर्ष कर्णालीका सबै जिल्लामा बाह्य पर्यटक पुगेका छन् । मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ८ सय ६४ बाह्य पर्यटकले कर्णाली घुमेका थिए भने २०७५/०७६ मा त्यो संख्या बढेर २१ हजार २ सय ९१ पुगेको छ । बाह्य पर्यटक सबैभन्दा बढी हुम्लामा पुगेका छन् ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आन्तरिक पर्यटक सबैभन्दा बढी सुर्खेतमा आएका छन् । सुर्खेतमा मात्रै एक लाख ६२ हजार ८ सय ६१ आन्तरिक र ६ सय ५४ बाह्य पर्यटकले भ्रमण गरेका छन् । यस्तै दैलेखमा ३८ हजार ६ सय ६८ आन्तरिक र १४ बाह्य पर्यटक पुगेका छन् ।

त्यसैगरी जाजरकोटमा ५८ हजार ८ सय ६५ आन्तरिक र ७ जना बाह्य, रुकुम पश्चिममा ६ हजार ६ सय ५८ आन्तरिक र १३ जना बाह्य, सल्यानमा ३६ हजार एक सय ५० आन्तरिक र ९ जना बाह्य, कालिकोटमा ३१ हजार ३ सय ५७ आन्तरिक र २१ बाह्य, जुम्लामा ७७ हजार ६ सय १४ आन्तरिक र ६२ जना बाह्य, मुगुमा १३ हजार ७ सय ९५ आन्तरिक र ५२ जना बाह्य, हुम्लामा २० हजार पाँचसय ४५ आन्तरिक र १७ हजार १३ सय ८९ बाह्य तथा डोल्पामा ८ हजार ३ सय ५४ आन्तरिक र २ हजार ६ सय ८८ बाह्य पर्यटक भित्रिएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सिधा हवाई यात्रा जोडिनु र स्थानीय मेला तथा महोत्सवहरु आयोजना हुनुले पनि पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको मन्त्रालयले जनाएको छ । गएका वर्षहरुको तुलनामा यस वर्ष कर्णालीको पर्यटक वृद्धिदर ३४ दशमलव २ प्रतिशत पुगेको छ ।

बाह्य पर्यटकहरुको वृद्धिले पनि उत्साह थपेको मन्त्री सिंहले बताए । । कर्णालीको पर्यटन प्रर्वद्धनका लागि मन्त्रालयले प्रचारप्रसार, पर्यटन पदमार्गको निर्माणलगायतका कामहरु भइरहेको उनले जानकारी दिए । ‘प्रदेश सरकारले पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासका योजना तर्जुमा गरेर काम गर्नुपर्ने छ’ उनले भने, ‘कर्मचारी अभावलगायत विभिन्न कारण हामीले सोचे अनुसार काम गर्न सकेनौँ । अब हामी पर्यटन क्षेत्रमा केही देखिने गरी काम गर्छौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस