लक्ष्मण घिमिरे भन्छन-लोकतन्त्रपछि नेपाली जनताले के पाए र, बोल्न बाहेक ?

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७६ बैशाख ११, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ११,काठमाडौँ । लोकतन्त्र स्थापनाको १३ वर्ष पूरा भएको छ । २०६२ साल चैत २६ गतेबाट सुरु भएको आन्दोलन २०६३ वैशाख ११ गते विघटित संसदको पुनस्थापनासंगै अन्त्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि २०६२ साल चैतमा नेपाली कांग्रेस, नेकपा एमालेसहितका तात्कालीन सात दल विघटित प्रतिनिधि सभा पुनःस्थापना लगायत माग राखेर सडकमा उत्रिएका थिए ।

राजनीतिक दलसँगै सम्पूर्ण क्षेत्रका पेशाकर्मी र सर्वसाधारण आन्दोलनको अग्रमोर्चामा होमिए । तर, अहिले त्यो आन्दोलनको उपलब्धि ओझेलमा पर्नेगरीका हर्कत हिजो त्यो आन्दोलनको अगुवाई गर्ने दलहरुले नै गरिरहेका छन् । नागरिकले उल्लासपूर्ण वातावरणमा लोकतन्त्र दिवस मनाउन पाएकै छैनन् । त्यो मौका नै आएन । आए त, केवल हरेक दिन दैलो अगाडि भ्रष्टाचार, अनियमितता, हत्या, हिंसा, बलात्कार, घोटाला, ठगिका समाचार । के थियो वैशाख ११ र लोकतन्त्र, हामीले विश्लेषक एवं नेपाली कांग्रेका पूराना नेता लक्ष्मण घिमिरेसंग चन्द्र धामीले गरेको कुराकानी ।

० नेपाल तन्त्रै तन्त्रले चलेको भन्छन् । खासमा लोकतन्त्र दिवसको महत्व के हो ? नेपालका लागि ?

–अब हामी कस्तो भयौँ भने, अघि तपाईले भन्नु भयो तन्त्रै तन्त्रले चलेको देश । हामीले फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको भनेर मनाउँदै आएका थियौँ । १०४ वर्षीय जहानियाँ राणाशासन समाप्त गरेर जनताले सबै दृष्टिकोणले अधिकार प्राप्त गरेको दिन फागुन ७ लाई मनाउँदै आइएको थियो । १७ साल पछि पुनः प्रजातन्त्रको लागि फेरि संघर्ष गर्नु पर्ने भयो । त्यसपछि प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछिका दिनहरु गर्दै गर्दै आउँदा ६३ सालमा आएर हामीले फेरि छलाङ दियौँ । प्रजातन्त्रलाई लोकतन्त्र शब्द दियौँ र लोकतन्त्र शब्द दिएर वैशाख ११ गतेलाई मनाउँदै छौँ । मूलतः यो प्रजातन्त्रकै शेरोफेरो हो । चाहे हामीले नाम जे सुकै दिऔँ । तर, प्रश्न के उठ्छ भने, ०६२–०६३ को जनआन्दोलनको मर्म के थियो ? त्यो पछिको १३ वर्षयता नेपाली जनताले के पाए त ? भनेर विश्लेषण गर्दाखेरी नेपाली जनताले पाएको त केही देखिएन, बोल्न बाहेक ।

त्यो त पहिले पनि थियो । तर, नेपाली जनताले खोजेको जुन सम्वृद्धि थियो । नेपाली जनताले खोजेको जुन विकास निर्माणको कुरा थियो । जनताले खोजेको जुन रोजगारीको कुरा थियो । यी यावत कुराहरु अहिले त कता गयो कता गयो ? संविधान दियौँ । अहिले दुई तिहाइको सरकार छ । कम्युनिष्ट सरकार छ, ६ वटा प्रान्तसहित केन्द्रमा । अर्को सातौँ प्रान्तमा पनि कम्युनिष्टले सहयोग गरेको सरकार छ । अहिले कम्युनिष्टमय भएको बखतमा किन हुन सकेन काम ? प्रश्न त उठ्यो नि ! सम्वृद्धिको त कुरै नगरौँ, शान्ति सुरक्षाको कुरै नगरौँ, भ्रष्टाचारको त झन् के कुरा गर्नु ? छलाङ् नै मारेको छ । यो सम्पूर्ण कुरा हेरिरहँदाखेरी नेपाली जनताले उल्लासपूर्ण वातावरणमा लोकतन्त्र दिवस मनाउनु पर्ने अवस्था आएको छैन ।

० लोकतन्त्र शब्द आफैमा पूर्ण हुँदा हुँदै हामी गणतन्त्रको सिंढी चढ्यौँ नि ! लोकतन्त्र र गणतन्त्रमा तात्विक भिन्नता के छ ?

–गणतन्त्र भनेको, ०६२–०६३ को जनआन्दोलनपछि कतिपय आयातित कुराहरु भए । कताबाट झ्याप्पै आए । तपाईले बहुतै महत्वपूर्ण कुरा गर्नु भयो । यदाकदा ०६२–०६३ को जनआन्दोलनमा राजतन्त्रकोविरुद्धमा नाराहरु नलागेका पनि होइनन् । लागेकै थिए । तर, त्यसरी भनिरहँदाखेरी पनि गणतन्त्रको लागि त्यत्रो संघर्ष भएको होइन । यो त्यतिवेलाका सात दलका दस्तावेज भनौँ, १२ बुँदे सहमति भनौँ, तत्कालीन सात दल र माओवादीबीचमा भएका सहमति हर्नु भयो भनेदेखि चाँहि यो चाँहि सक्रिय राजतन्त्रकोविरुद्धमा थियो । भन्ने कुरा प्रष्ट छ ।

ती दस्तावेजले पनि देखाउँछ । तर, गणतन्त्र आयो, दुई तीन वटा कुरा भारी बोकाइयो । बाहिरबाट आयो । ०६२–०६३ को जनआन्दोलनमा संघीयताको स’पनि उच्चारण भएको थिएन । धर्मनिरपेक्षको न’पनि उच्चारण भएको थिएन । निर्वाचन प्रणालीभित्र समावेशी भन्ने शब्द चलाइयो त्यो पनि त्यो संघर्षमा कतै उठेको होइन । यि तीन चार वटा कुराहरु बाहिरबाट परिचालित भएर आएको रहेछ भन्ने कुरा त प्रष्ट देखिन्छ । आए पनि ठीक छ, त । सुख सम्वृद्धि, विकास निर्माणदेखि लिएर रोजगारीका कुराहरु पूर्ति गरेको भए हुँदैन थियो ? शान्ति सुरक्षा लगायतमा सुधार भएको भए आयातित भए पनि पचाउनु हुन्थ्यो भन्ने कुरा रहन्थ्यो । अहिले त के भयो भने ? दुई तिहाइको सरकार छ, वर्ष दिन भन्दा बढी भयो ।

प्रधानमन्त्री ज्यू तुक्का हान्ने, हँसाउने सिवाय केही गर्नु हुन्न । पानीजहाज र रकेटका कुरा गर्नु हुन्छ, तर जनताले खोजेको सडकका खाल्डा पहिले पुरिउन भन्ने हो । पूर्वपश्चिम राजमार्ग चार लेनको बनोस्, केरुङसम्म जानेबाटो पनि त्यस्तै बनोस् । तर, त्यो देखिएन । यस्ता कयौँ कुरा छन् कि ठूलै फेहरिस्त आउँछ । दुःखदायि के छ, भने सरकार यति अनपपुलर भइरहँदाखेरी पनि प्रमुख प्रतिपक्षी कांग्रेसले त यी कुराहरु, सडक, सदन सबैतिर उठाउनु पर्ने । ए, कांग्रेसले त कुरा उठाइराखेको छ, है भन्नु पर्दथ्यो नि मान्छेले । कांग्रेसको पनि त्यही ताल छ । आवाजविहिन भएको छ । जनताले हेर्ने भनेको त सत्तापक्ष र प्रतिपक्ष यिनैको मुख हेर्ने हो । यो हेर्दा जनतामा एकदमै ठूलो नैराश्य आइरहेको छ ।

० तपाई त्यसो भन्नुहुन्छ, कांग्रेस सभापतिले कसरी कांग्रेस कमजोर प्रतिपक्षी ? भनेर प्रश्न गरिरहनु भएको छ ?

–कसरी त ? आम कांग्रेसी कार्यकर्तालाई सोधौँ न ! गएको निर्वाचनमा किन हारियो ? निर्वाचन हार्नुको कारण त उहाँले पत्ता लगाउन सक्नु भएन । कम्युनिष्ट एकता भएका कारण हारियो भन्नु भो । लोकतन्त्रमा हार्नु ठूलो कुरा होइन । हारिन्छ, । तर, हार्नुको कारण नै पत्ता लगाउन नसक्नेहरु कसरी बलियो प्रतिपक्षी हुन्छ ?

कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोला ।

-पोष्टदैनिक र अनलाईन केन्द्रको सहकार्यमा

ताजा अपडेट

खोजी गर्नुहोस