बैशाख १०, काठमाडौँ । उद्योगी–व्यवसायीहरुले बैंकको व्याजदर ३ प्रतिशत कायम राख्न सरकारसँग माग गरेका छन्।
उद्योगी-व्यवसायीहरुले उत्पादनमूलक क्षेत्रमा पनि बैंकको व्याजदर ३ प्रतिशत कायम नराखे मुलुकको व्यापार घाटा झनै बढेर जानेतर्फ पनि सरकारलाई सचेत गराएका छन्।
नेपाल राष्ट्र बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको प्रि(बजेट’ छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उत्पादनमूलक क्षेत्रको लगानीका लागि बैंकको ब्याजदर ३ कायम गर्न सरकारसँग माग गरेका हुन्।
हाल बैंकहरुले उत्पादनमूलक क्षेत्रको लगानीका लागि ४।७५ प्रतिशत व्याज लिँदै आएको छ। त्यसलाई निरन्तरता दिए नेपाली उद्योगले अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न नसक्ने वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाई छ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विदेशी कम्पनीबाट क्रेडिटमा सामान ल्याउने नीति तत्काल बनाउन नेपाल राष्ट्र बैंकसँग माग गरे।उनले नेपालका उद्योगीहरुले क्रेडिटमा सामान ल्याउन पाउने नीति बैंकले तय नगरेका कारण मारमा पर्नु परेको गुनासो पनि गरे।
त्यसैगरी उद्योगीहरुले नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सारलगायतका पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन्।नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भन्सार, सडक र हवाई क्षेत्रको पूर्वाधार विकासमा जोड दिने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए।