पाइला उतै डोरिंदो रैछ

बैशाख १५, काठमाडौँ ।

मुक्तक -१

नचिनेको होइन तिम्लाई, कहिले छाति चरक्क पार्छौ
मीठा आशमा अड्याएर, मन उस्तै धरक्क पार्छौ
संगत फेरि प्यारो लाग्छ, छाडी जाऊँ अप्ठ्यार‍ो लाग्छ
आफ्नो स्वार्थ खिचिहाल्छौ, मुखले भने लरक्क पार्छौ ।

मुक्तक -२

थाहै नपाई आफ्नै मुटु, अनायासै चोरिँदो रैछ
शान्त निर्मल मन पनि, उनकै यादमा घोरिँदो रैछ
कस्तो रोग हो पिरतीको, कसैगरी हुन्न निको
आफ्नै‌ बशमा छैन मन, पाइला उतै डोरिँदो रैछ ।

मुक्तक -३

तिम्रो यादले सताएर, रात अनिंदो पारी सक्यो
एक्लै जिउने सम्भावना, पापी मनले मारी सक्यो
तिमी भने होइन भन्छौ, सबका सामु मौन बन्छौ
मौनताकै भाषा पनि, हृदयले स्वीकारी सक्यो ।

मुक्तक – ४

झझल्को तिम्रै आउन थाल्छ, डाँडामा गुराँस फुल्दाखेरी
रेशमी कपाल सम्झिन्छु म, बेसीमा धानले झुल्दाखेरी
गैदिन्छ्यौ जति टाढा तिमी, भैदिन्छ्यौ उति गाढा तिमी
तिम्रै स्वरुप देखूँ सधै, बिहानी नजर खुल्दाखेरी ।

मुक्तक -५

अलग्गिएका दिल नि फेरी, गाँसिए पो प्रीति हजुर
दु:ख भुलाई खुशीसित, हाँसिए पो प्रीती हजुर
संसारमै नमूना होस्, जस्लाई पनि सम्झना होस्
चखेवाको जोडी जस्तै,बाँचिए पो प्रीति हजुर ।

-गोम बिक्रम

संम्बन्धित समचार

Leave a Reply