असार १२,बाग्लुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ ।
वर्षासँगै घरमाथिको पहाडबाट खसेको पहिरोले राति १२ बजे स्थानीय विष्णुबहादुर क्षेत्रीको घर पुरिएको हो ।
घर पहिरोले पुरिँदा ४० वर्षीय विष्णुबहादर क्षेत्री, उनकी ३५ वर्षीय श्रीमती विष्णु क्षेत्री र ३ महिनाकी छोरी सोनिया क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।
खत्रीका दुई छोरीको भने गाउँ बाहिर गएका कारण ज्यान जोगिएको छ ।
घटनाको सूचना पाउने वित्तिकै ईलाका प्रहरी कार्यालय बरेङको प्रहरी टोली र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए । उनीहरुको गोठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । यही ठाउँमा अन्य २ घर र ३ गोठ पनि पुरिएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।