प्रधानमन्त्री ‌ओली भियतनाम र कम्बोडिया भ्रमण जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार विदेश यात्रामा निस्किने भएका छन् । प्रधानमन्त्री ओलीको एक साताको पूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको दुई देशीय भ्रमण तालिका परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओली वैशाख २६ गते (मे ९) मा भियतानम ३० गते (मे १३) मा कम्बोडिया जाने छन् । प्रधानमन्त्री ओली बुद्ध जयन्तीको छेको पारेर भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका हुन् । भियतनाम र कम्बोडिया बुद्ध धर्म बाहुल जनसंख्या भएका मुलुक हुन् ।

भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा ओली त्यहाँ जान लागेका हुन् । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षीसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ भियतनामका राष्ट्रिय सभाका अध्यक्षसँगसमेत भेट वार्ता गर्न बताइएको छ । द्वीपक्षीय भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्ध प्रवर्द्धन गर्नका लागि केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भियतानम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको हो ची मिन्ह नेसनल एकेडेमी अफ पोलिटिक्समा विशेष प्रवचन दिने छन् । त्यस्तै भियतनामको राजधानी हानोइमा आयोजना हुने नेपाल–भियतनाम व्यवसायिक फोरममासमेत सम्बोधन गर्ने छन् । प्रधानमन्त्री ओलीले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन तथा लगानीका विषयमा चर्चा गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको भियतनाम भ्रमणका क्रममा नेपाल–भियतनाम सीधा हवाई उडान सम्झौताको परिमार्जन तथा कार्यन्वयन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी सरकारले गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी गराएको छ । नेपाल र भियतनामबीच सन् २०१५ मा सीधा हवाई उडानसम्बन्धी सम्झौता भएको थियो । तर कार्यान्वयनमा आउन सकेको छैन ।

त्यस्तै प्रधानमन्त्री ओली भियतनाममा आयोजना हुने बौद्ध धर्मसम्बन्धी सम्मेलनमा सम्बोधन गर्ने छन् । संयुक्त राष्ट्र संघको बुद्ध जयन्ती दिवस (युएन डे अफ वेसक) समारोह यस पटक भियतनामको उत्तरी प्रान्त हा नाममा हुँदै छ । सम्मेलन मे १२–१४ मा हुने छ ।

राष्ट्र संघले बुद्ध जयन्तीलाई मान्यता दिएको २० वर्ष पुगको छ। सन् १९९९ मा श्रीलंकाको प्रस्तावमा रिजोलुसन पारित गर्दै यसको सुरुवात भएको थियो । सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय रुपमा यो दिवस थाइल्याण्डले ११ पटक भियतनामले दुई पटक र श्रीलंकाले एक पटक आयोजना गरेका छन् । भियतनामले यस अगाडि सन् २००८ र २०१४ मा यो सम्मेलन आयोजना गरेको थियो ।

गत वर्ष यो सम्मेलन थाइल्याण्डमा भएको थियो। सन् २०१७ मा सम्मेलन श्रीलंकामा भएको थियो । सो सम्मेलनको समापन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंका गएकी थिइन् ।

प्रधानमन्त्री ओली भियतनामको भ्रमण सकेर वैशाख ३० गते कम्बोडिया प्रस्थान गर्ने छन् । त्यहाँका प्रधानमन्त्री हु सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।

गत मंसिरमा युनिफिकेसन चर्च निकट युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएका कम्बोडियाका प्रधानमन्त्री हु सेनले प्रधानमन्त्री ओलीलाई कम्बोडिया भ्रमणको निम्तो दिएका थिए । विवादास्पद चुनावमार्फत एकलौटी सरकार बनाएका हुले पछिल्लो पटक अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

कम्बोडिया भ्रमणका क्रममा दुई समकक्षीबीच द्वीपक्षीय भेटवार्ता हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीसँग त्यहाँ राष्ट्रियसभा र सिनेटका अध्यक्षसँग भेटवार्ता गर्ने छन् ।

सो भ्रमणका क्रममा नेपाल–कम्बोडिया सीधा हवाई उडान सम्झौताको कार्यान्वयनको विषयमा छलफल हुने बताइएको छ ।

गत मंसिरमा काठमाडौंमा आएका कम्बोडियाका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको थियो ।

दुई देशबीच भएको सम्झौताअनुसार नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सुरु गर्न सकिनेछ । यस्तै सातामा १४ वटा उडान गर्न पनि दुई देश सहमत भएका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराईसहित केही सांसद, नेपालका सरकारका उच्च अधिकारीहरु र स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी हुने छन् । त्यस्तै नीजि क्षेत्रका व्यवसायी पनि भ्रमण दलमा सहभागी हुने छन् । प्रधानमन्त्री ओली जेठ १ गते स्वदेश फर्किने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस