बैशाख ३०,फिक्कल । लामो समयदेखी विद्युतिय पहुँच नभएको सिन्धुलीको फिक्कल गाँउपालिकामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेको छ । करिब ३ बर्षदेखि स्थानीय अगुवा समेत रहेका हिमालयन टेलिकमका निर्देशक शम्भु पहाडीले नेपाल दुर सञ्चार प्राधिकरणमा सेवा विस्तार गर्न निवेदन दिएका थिए । पहाडी दुरसञ्चार क्षेत्रमा समेत काम गर्छन ।
उनको निवेदनउपर २०७३ मा सुनुवाई गर्दा प्राधिकरणले नेपाल टेलिकम,एनसेल र स्मार्ट टेलिकमलाई सेवा विस्तार गर्न पत्र काटेको थियो । सो क्रममा एनसेलले तत्काल सेवा विस्तार गरेपनि टेलिकमले टावर मात्रै राखेको थियो । विगत दुई बर्षसम्म टावरमात्रै ठड्याएको टेलिकमले २ बर्ष ढिलागरी सो क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ ।
गत बैशाख ८ गते फिक्कलमा आयोजित ‘ईन्टरनेशनल गल्र्स ईन आईसिटी डे’ को अवसरमा नेपाल दुरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकलाले तत्काल फिक्कलमा नेपाल टेलिकमको सेवा विस्तार गर्न निर्देशन दिने बताएकी थिईन । उनले कार्यक्रमबाट फर्के लगतै टेलिकमलाई काम अघि बढाउन निर्देशन दिएकी थिईन । सो कार्यक्रममा पहाडीले उपनिर्देशक बासुकलालाई राष्ट्रको सञ्चार भन्ने तर ३ नम्बर प्रदेशभित्रै टेलिकमको पहुँच नहुनु दर्भाग्य रहेको बताएका थिए ।
उनले उपनिर्देशकलाई कुनैपनि हालतमा तत्काल टेलिकमको सेवा विस्तारको लागि पहल गरिदिनहुन आग्रह समेत गरेका थिए । सोही क्रममा सिन्धुली क्षेत्र १ का सांसद गणेश पहाडीले पटक–पटक सञ्चारमन्त्रीलाई भेटेर टेलिकमको सेवा विस्तार गर्न आग्रह गरेका थिए । सांसद पहाडीले फिक्कललाई सञ्चारक्षेत्रबाटै बञ्चित गराउनु दुखद रहेको भन्दै तत्काल सेवा सुचारु गर्न अग्रणी भुमिका खलेका थिए । सोही क्रममा गाँउपालिकाले सेवा विस्तारको लागि दुरसञ्चार प्राधिकरणलाई आग्रह गरेको थियो।
पछिल्लो समय नेपाल टेलिकममा प्रमुखको रुपमा आएका दिल्ली अधिकारी ग्रामिण भुभागमा सेवा विस्तार गर्न अग्रसर भएका छन । सोही अनुसार उनले तत्काल फिक्कलमा टेलिकमको सेवा सुचारु गराएका छन । फिक्कलमा टेलिकमको सेवा विस्तार नभएको बारे अनलाईन केन्द्रले समाचार प्रकाशित गरेको थियो ।