वन र वन्यजन्तुको संरक्षण र मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण आवश्यक

Post Thumbnail

असार १३,चितवन । प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ ।

चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री दावा लामाले वन र वन्यजन्तुको संरक्षणका साथसाथै मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

वन र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिकाको प्रशंसा गर्दै मन्त्री लामाले संरक्षणलाई समुदायको आयआर्जन र जीविकोपार्जनसँग जोड्नुपर्ने बताए ।

प्रदेश नं ३ को उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले निकुञ्जकै कारण नेपाल विश्वसामु चिनिने अवस्था रहेको उल्लेख गरे । विद्यालय तथा मध्यवर्ती क्षेत्रमा महिला सहभागिता कम रहेको विषय कोट्याउँदै उहाँले यसतर्फ ध्यान दिन आग्रह गरे ।

संरक्षण र स्थानीयवासीको आयआर्जनका लागि समिति सहकार्य गर्न तयार रहेको प्रतिवद्धता समेत आलेले जनाए । उनले वन्यजन्तुबाट मृत्यु भएकाका परिवार र घाइतेहरुलाई राहत दिने विषयमा सबै गम्भीर हुनुपर्ने पनि बताए ।

कार्यक्रममा प्रदेश सदस्य विजय सुवेदीले विकासका लागि पर्यटन र पर्यटनका लागि संरक्षण गर्न जरुरी रहेको बताए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण र जैविक विविधता संरक्षणमा ध्यान दिन सांसदहरुलाई आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस