पाँचथरमा नौ जनाको हत्या घटनाः यी हुन् अनुत्तरित सातथरी प्रश्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ८, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ८, काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ ।

यो हत्या काण्डसँग जोडिएका धेरै प्रश्न अनुत्तरित रहेका छन्। अनुत्तरित सातथरी प्रश्न यस्ता छन्ः

१. नौजनाको हत्या गरेर मानबहादुर कसरी २५ किमि टाढा पुगे र आत्महत्या गरे?

ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ । तर, मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ । तर, सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे? प्रहरीले जवाफ दिन बाँकी छ ।

२. सिलाइ–कटाइ तालिमको खाजा खाँदा नुनमा सिसा कसले मिलायो?

घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । त्यस्तै, बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ । त्यस्तै, बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ।

सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो । साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए? अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन ।

३. खानामा सिसा, सामूहिक हत्याको प्रयास, तर प्रहरीले किन अनुसन्धान गरेन?
तालिममा सहभागी भएर खाजा खाएका सातजना स्थानीय बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पताल लगिएको थियो भने दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो । समर्पितका डा। विशालचन्द्र सुवेदीले मंगलबार राति नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘दुईजना बिरामी बेहोसजस्तै अवस्थामा आउनुभएको थियो, उहाँहरूले कुनै प्रश्नको जवाफ दिन सक्नुभएको थिएन। तर, अर्को दिन बोल्न सक्नुभयो । घाँटी र पेट दुखेको बताउनुभयो । उहाँहरूका आफन्तले सिसाको धुलो मिसिएको नुन पनि लिएर आउनुभएको थियो । जिल्ला प्रशासन र प्रहरीका हाकिमहरू पनि आउनुभएको थियो । तर, बिरामीहरू ठीक हुँदै गएपछि हामीले डिस्चार्ज ग¥यौँ । त्यसपछि अनुसन्धान के भयो? हामीलाई जानकारी छैन।’ खानामा सिसा मिसाएर सामूहिक हत्याको प्रयास कसले र किन गरेको थियो? प्रहरी प्रशासनले किन अनुसन्धान गरेन? प्रश्न अनुत्तरित छ ।

४. मात्र एकजनाले खुकुरीले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन्?
प्रहरीको प्रारम्भिक अनुसन्धानले मानबहादुरले माइतमा बस्दै आएकी श्रीमती, ससुराली र साढुदाइको परिवार सखाप पार्ने योजनाअनुसार हत्या गरेको संकेत गरेको छ । उनीहरूको घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो ।

प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् । तर, पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । तर, मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे रु एकजना व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ।

५. हत्यारा ठानिएका मानबहादुरको पनि ‘आत्महत्या’ तर तीनवटा टिसर्टमा रगत

ससुराको घरमा श्रीमतीसहित चारजना र १० मिनेट टाढा साढुको घरका पाँचजनाको हत्या गरेपछि करिब २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, करिब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ ।

झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ।

६. हत्यामा संलग्न भनिएका मानबहादुरको झोला र शव दुई किमि टाढा
रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् ।

हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन । हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए? घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले कपडा किन लुकाए? थप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे? यो प्रश्न झन् रहस्यमयी छ।

७. खुकुरीले हानेर नौजनाको हत्या गर्ने मानबहादुरको शरीरमा रगतको निसान छैन
जुन रूखमा मानबहादुर झुन्डिएका छन् त्यसको फेदमा चप्पल भेटिएका छन् । तर, चप्पलमा रगतको कुनै निसान छैन । चप्पल पनि हतासिएको मान्छेले राखेजस्तो छैन । ढोकामा जस्तै मिलाएर राखिएको अवस्थामा छन् । त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन?

आत्महत्या नै गर्नु थियो भने उनले रगत किन पखाले? उनले रगत लागेको कपडा फेरेका हुन् भने प्रमाण लुकाउन चाहन्थे । तर, प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन ग¥यो? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो? यी प्रश्नको जवाफ प्रहरीले खोज्नुपर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस