जेठ ११,धादिङ । धुनिवेशी नगरपालिकाको धार्के बजारमा अब छिट्टै एक घर एक धारा अभियान सुरु हुने भएको छ । धार्के बजार टोल सुधार समितीले अब धार्के – चालिसे बजारका उपभोक्तालाई खानेपानी खुवाउने भएको हो। शुक्रबार धार्के बजारमा समिती र उपभोक्ताहरुको भेलाले अब छिट्टै धुनीबेशी–६ चालिसे–धार्के बजार आसपासका उपभोक्ताहरुलाई एक घर एक धाराको निति अबलम्बन गरि यस अघिनै उपभोक्ताले उपभोग गरिरहेको काम्ले खोरिया मुलबाट बानियाटार – धार्के खानेपानीको ब्यबस्थापन गरी खानेपानी बितरण गर्ने समितिका अध्यक्ष रामचन्द्र आचार्यले बताए ।
तत्कालका लागी धार्के – चालिसेका २०० घरपरिवारलाई खानेपानी बितरण गर्न सकिने गरि तल्लो बानियाटारको तल्लो डाँडामा करीब १ लाख लिटरको ट्यांकी निर्माण कार्य सुरु गरि सकिएको र छिट्टै निर्माण सम्पन्न हुनासाथ पाइपलाइनको काम अघि बढाउने अध्यक्ष आचार्यले बताए ।
आयोजनाको लागि करीब १ करोड लागत लाग्ने अनुमान गरिएको र यसका लागि वडा र नगरपालिकाको साथै उपभोक्ता समेतको लगानीमा सम्पन्न गर्ने समितिका अध्यक्ष आचार्यले बताए ।
धुनिबेशी नगरपालिकाको मिनी परिषदले पनि यस आयोजनाको लागि सात लाख रुपैया बिनियोजन गरेको र उपभोक्ताको सक्रियता र काम हेरी वडा र नगरले पछी थप बजेट बिनियोजन गर्ने वडा अध्यक्ष कान्छा तामाङले बताए ।
धार्के बजार टोल सुधार समितिले यस अघि धार्के बजारमा फुटपाथ सङै सिसि क्यामेरा जडान गरि बजारलाई ब्यबस्थापन गरीरहेको छ । शुक्रबारको भेलाले उपभोक्ता समिती र सल्लाहकार समितीको समेत गठन गरिएको स्थानिय उपभोक्ता समेत रहेका पत्रकार रमेश आचार्यले अनलाईन केन्द्रलाई बताए । ।