‘११ वटा प्रदेशको संघीय प्रणाली नै देशको आवश्यकता’ : डाक्टर भट्टराई

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १२, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको दाबी गरेका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल एकीकरण पश्चात समाजवादी पार्टीले पहिलोपटक जनकपुरमा आइतबार आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले यस्तो बताएका हुन् ।

पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही अर्थमा राष्ट्रिय एकता कायम गर्ने दाबी गरे। उनले हालको संविधानले राष्ट्रको सार्वभौ सत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभएसम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गरे ।

पहिलो संविधान सभाको क्रममा तत्कालीन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली नै देशको आवश्यकता रहेको जिकीरसमेत गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले देशलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक संसद हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पहिचान र समानता विरोधी वर्तमान संविधानलाई मधेशी जनताले अझै स्वीकार नगरेको उल्लेख गरे ।

अध्यक्ष यादवले राज्यको स्रोत साधनमा भागिदारी र राज्य सत्तामा मधेशी, आदिवासी, जनजाति, मुस्लिम महिलालगायत उत्पीडनमा परेका सबै वर्ग समुदायको बराबरको अधिकार नभएसम्म देशमा आन्दोलन जारी रहने उद्घोष गर्दै त्यसको नेतृत्व समाजवादी पार्टीले गर्ने उल्लेख गरे।

ताजा अपडेट

खोजी गर्नुहोस