किर्ते गरेर लाभ लिन खोज्ने भुकम्पपिडित प्रहरी खोरमा !

Post Thumbnail

जेठ १३,गोरखा । यहाँको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटका ३० वर्षीय भूकम्प पीडित विष्णु घिमिरेले पुनर्निर्माणमा खटिएका प्राविधिकसँगको मिलेमतोमा किर्ते हस्ताक्षर गरेर अनुदान रकम लिएपछि प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष र वडामा खटिएका प्राविधिकको किर्ते हस्ताक्षर गरेर दोस्रो किस्ताको अनुदान रकम झिक्ने ती भूकम्प पीडित लाभग्राहीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो ।

चितवन बस्दै आएका उनको नाम भूकम्प पीडित लाभग्राही सूचीमा छ । घर निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझेर पनि उनले घर बनाएका थिएनन् । पहिलो किस्ताको ५० हजार रुपैयाँले डीपीसीसम्मको काम सकेपछि प्राविधिकको सिफारिसमा मात्रै दोस्रो किस्ताको रकम पाउने प्रावधान छ ।

घिमिरेले वडाध्यक्ष सुरज ढकाल र वडामा खटिएका प्राविधिक प्रकाश तिमिल्सिनाको नक्कली हस्ताक्षर गरी दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँ निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

‘उनलाई नक्कली कागजात खडा गर्न भने भीमसेन थापा गाउँपालिका तान्द्राङमा खटिएका सव इन्जिनियर बलराम घिमिरेले सहयोग गरेको खुलेको छ,’ नेपालले भने, ‘एउटा क्षेत्रको प्राविधिकले अर्कै वडामा खटिएका प्राविधिकले भर्नुपर्ने फाराम भरिदिएको र नक्कली हस्ताक्षर समेत गरिदिएको देखिन्छ ।’

सब इन्जिनियर घिमिरे प्राविधिक हक हित संघर्ष समितिका जिल्ला अध्यक्ष पनि हुन् । उनी हाल फरार छन् । दोस्रो किस्ताको अनुदान सिफारिस पूर्व प्राविधिकले प्रथम निरीक्षण फाराम र अनुसूची १४ अन्तर्गतको दुई वटा फाराम भर्नुपर्छ । त्यसपछि घर निर्माणको निरीक्षण गरेका प्राविधिक र वडाध्यक्षले हस्ताक्षर गरेपछि अनुदान प्राप्तिको थप प्रक्रिया अघि बढ्ने प्रावधान छ ।

तान्द्राङमा खटिएका प्राविधिक बलराम घिमिरेले बन्दै नबनेको घरको निरीक्षण फाराम र अनुसूची भर्न सहयोग गरेको प्रहरी नायब उपरीक्षक नेपालले बताए । प्राविधिक घिमिरेले नै श्रीनाथकोटमा खटिएका इन्जिनियर प्रकाश तिमिल्सिना र वडाध्यक्षको नक्कली हस्ताक्षर गरेको पक्राउ परेका भूकम्पीडित घिमिरेले बयान दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस