जेठ १४,काठमाडौँ । नेपालमा आधाभन्दा बढी छायांकन भएको बलिउड अभिनेता अर्जुन कपूरको एक्सन थ्रिलर फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पिटिएको छ । वास्तविक घटनामा आधारित फिल्मलाई दर्शकको साथ मिलेको छैन । पहिलो दिनदेखि नै फिल्मको कमाईले सुस्त रफ्तार समातेको छ । फिल्मको ओपनिङ विकेन्ड कलेक्सन निराशाजनक छ ।
अर्जुन कपूरको फिल्मले ३ दिनमा मात्र ८ करोड ६६ लाखको व्यापार गरेको छ । ट्रेड एक्सपर्ट तरण आदर्शले ट्वीट गर्दै फिल्मको तीन दिनको कलेक्सन सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ुविकेन्डमा ‘इन्डियाज मोस्ट वान्टेड’ को कमाईमा उछाल आयो, तर यो पर्याप्य छैन । तीन दिनको कलेक्सन अपेक्षा गरिएको भन्दा निकै कम हो ।ु
शुक्रवार फिल्मले भारतीय बजारमा २ करोड १० लाख, शनिवार ३ करोड ३ लाख र आइतवार ३ करोड ५३ लाखको व्यापार गरेको छ । राम्रो रिभ्यू पाउँदा पाउँदै पनि अर्जुनको यो फिल्मले दर्शकलाई इम्प्रेस गर्न सकेको छैन । कयौं बलिउड सेलेब्सले फिल्मको प्लटको तारिफ गरेका थिए । तर, सेलेब्सको सपोर्ट पनि फिल्मका लागि लाभदायक हुन सकेन ।
फिल्मले यही सुस्त रफ्तार नछाड्ने हो भने ‘इन्डियाज मोस्ट वान्टेड’ बक्सअफिसमा नराम्रोसँग पछारिने देखिन्छ । उता, बक्सअफिसमा यो फिल्मसँग ‘पीएम नरेन्द्र मोदी’ पनि रिलिज भएको थियो । यो फिल्मले पनि बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । यद्यपि, अर्जुनको फिल्मभन्दा राम्रो व्यापार भने गरेको छ । फिल्मले तीन दिनमा ११ करोड छापेको छ ।