जेठ १५,काठमाडौँ । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ अर्ब २७ करोड विनियोजन गरेको छ । यो काम अघि बढ्ने चरणमा छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटले यस्तो रकम व्यवस्था गरेको हो ।
टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको छ ।
सम्झौताका लागि लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका०को स्वीकृति आवश्यक पर्छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।
सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।
नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।
विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।
यो सुरुङमार्ग दुबैतर्फका सडक बेला(बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टकिो सडक दुई लेन हुँदा अर्कोपट्ट एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १र१ मिटरको पेटी राखिने छ ।
सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।
नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटरको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ ।
तीन लेनको सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।
यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ ।