‘म दावीका साथ भन्छु, दुरसञ्चार सेवा प्रदायक कम्पनीको एक नम्बरमा अहिले हामी नै छौँ’ (अन्तर्वाता)

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७६ जेष्ठ १८, शनिबार (५ साल अघि)
  • १६० पटक पढिएको
Post Thumbnail

जेठ १८, काठमाडौँ । पछिल्लो समय अप्टिकल फाइबरको कुराले बजारमा निकै चर्चा पायो । प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छीमा पुगेर यसको उद्घाटन गरे । अब नेपाल सञ्चार महामार्गमा प्रवेश गर्दैछ । नेपाल टेलीकमले सरकारको यस योजनालाई साकार पार्न हातमाहात मिलाई काम गरिरहेको छ । आखिर के हो त अप्टिकल फाइबर ? के देश सञ्चार महामार्गमा नै जाँदै छ त ? यसमा नेपाल टेलिकमले के गर्दैछ ? यस्तै यस्तै विषयमा रहेर अनलाईनकेन्द्रका प्रधानसम्पादक राज ढुंगानाले नेपाल टेलीकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँग भलाकुसारी गरेका छन् । प्रस्तुत छ प्रबन्ध निर्देशक अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

अहिले टेलिकमले के काम गर्दैछ ? व्यस्तता कस्तो छ ?

विगतमा धेरै आयोजनाहरुको काम अघि बढेको थिएन । अहिले त्यसलाई अहिले अगाडि बढाउने काम भैरहेको छ । कम्पनीको नेटवर्कको गुणस्तर कायम गर्ने र नपुगेको ठाउँमा नेटवर्क विस्तार गर्ने काममा नै अहिले व्यस्त छौँ ।

भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्टिकल फाइबरको शुरुवात गर्नुभयो । खासमा यो के हो, जनतालाई यसले कस्तो प्रतिफल दिन्छ ?

खासगरी सरकारको निति हरेक स्थानीय निकायमा सुचना प्रविधिको पहुँच पुर्याउने र हरेक सरकारी कार्यलयहरुमा इन्टरनेटको माध्यमबाट जनतालाई सुसुचित गराउने रहेको छ । त्यहि नीति अनुरुप सुचनाप्रविधिको लागि महामार्ग निर्माण गर्ने उद्देश्यले यो आयोजना शुरु गरिएको हो । यसमा लाग्ने लागत ग्रामिण दुरसञ्चार कोषमा जम्मा भएको रकम खर्च गर्ने गरि नेपाल दुरसञ्चार प्राधिकरणले प्रदेश १, २ र ३ मा नेपाल टेलिकमलाई सुचना महामार्गको निर्माण गर्ने जिम्मा दिएको थियो । त्यहि जिम्मा अन्तर्गत हामीले पूर्वको चियोभञ्ज्याङदेखि गोर्खाको आरुघाटसम्म एरियालाई र पुष्पलाल मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गलाई मूख्यमार्ग मानेर यसका सहायक मार्गहरु समेतमा अप्टिलक फाइबर नेटवर्क विस्तार गर्ने, जिल्ला सदरमुकामहरु तथा स्थानीय सेवा केन्द्रहरु समेतमा फाइबर नेटवर्क पुर्याउने भन्ने उद्देश्यले हामीले यो आयोजना अघि सारेका हौँ ।

सुचना महामार्ग भनिएको छ, यसको रुट कस्तो हुन्छ ? कसरी जान्छ यो ?

यसले पुष्पलाल मध्यपहाडी लोकमार्गको सबै रुटहरुलाई कभर गर्छ । त्यस्तै, यसले पूर्व पश्चिम राजमार्गलाई पनि कभर गर्छ । यी राजमार्गहरुलाई जोड्ने सहायकमार्गहरुलाई पनि यसले कभर गर्ने भयो । जहाँ रोडहरु बनिसकेका छन्, त्यहाँ हामीले अण्डरग्राउण्ड नेटवर्क गर्छौँ, जहाँ सडक पुगिसकेको छैन, त्यहाँ हामी विद्युतका पुर्वाधारहरु प्रयोग गरेर एडिएसएस अप्टिकल फाइबरहरु लैजान्छौँ ।

कति जनसख्याले यो आयोजनाबाट लाभ लिन सक्छन्, अपेक्षा कस्तो छ ?

यो आयोजनाको एउटा सुन्दर पक्ष के हो भने, हामीले निर्माण गरिसकेपछि यसको पूर्वाधारहरु, अप्टिकल फाइबर, व्याण्डविथहरुलाई हामीले सबै ग्राहकहरुलाई दिनुपर्ने हुन्छ भने नीजि क्षेत्रले मागेको खण्डमा पनि दिनुपर्छ । यसो हुँदा, पुर्वाधार सह प्रयोग गर्ने, पुर्वाधारमा पर्ने दोहोरो लगानीलाई घटाउने तथा लगानी न्यूनिकरण गर्ने र दुरसञ्चार सेवाको महशुल घटाउन सहयोग गर्ने हाम्रो मूख्य उद्देश्य हो । अर्को उद्देश्य भनेको नेपालको सबै ठाउँमा उच्च गतिको दुरसञ्चार सेवाहरु पुर्याउने हो । जसले गर्दा जनताले इन्टरनेटबाट सबै सुचनाहरु प्राप्त गर्ने, सुचना आदानप्रदान गर्ने काममा सहज हुन्छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, पर्यटकिय क्षेत्रलगायतमा यसको उच्चतम प्रयोग गर्न सक्छौँ । कृषकहरुलाई पनि यसले धेरै सहज बनाउँछ । आफुले के खेती कसरी गर्ने भन्ने बारे यसबाट जानकारी लिन पनि सकिने हुँदा सबैलाई यसको महत्व छ ।

राष्ट्रिय महत्वको आयोजनाको रुपमा यसलाई देखाईएको । तर पनि यो काम सकिने बेलामा बल्ल शुरु भयो नि । यस्तो किन भयो ?

सुरुमा हाम्रो काम गर्दै जाँदा विभिन्न प्रकृतिको कामहरु गर्नुपर्छ । जस्तै, सिभिल पूर्वाधारको काम, अप्टिकल फाइबरको काम, डिडब्ल्यु डिएम उपकरणहरु, राउटर तथा अन्य उपकरणहरु राख्छौँ । त्यसपछि मात्रै पूर्ण रुपमा हामी सेवा प्रवाह गर्न सक्छौँ । यस्ता विविध कामहरुबारे छलफल गरेर बोलपत्र गर्न हामीलाई समय लाग्यो । यस्तो काम गरेको धेरै अनुभव नभएको हुनाले पनि हामीलाई प्राविधिक अध्ययनमा पनि समय लाग्यो । बोलपत्र आह्वान गरिसकेपछि भने अहिले द्रुत गतिमा काम भैरहेको छ ।

कामहरु भैरहेको छ । हाम्रोमा अहिले पनि ठेकेदारको लापरवाहीका कारण काम नहुने या ढिला हुने देखिँदै आएको छ, तपाईं चाहिँ अहिले काम गरिरहेको ठेकेदार कम्पनीसँग कति विश्वस्त हुनुहुन्छ ?

हामीले कामका लागि अन्तराष्ट्रिय बोलपत्र गरेका हौँ । त्यतिखेर हामीले ठेकेदारको कार्य क्षमता तथा अनुभवहरु माग गरेका थियौँ । अहिले ३ वटा ठेकेदारलाई मूख्य काम गर्न दिएका छौँ । ती सबै ठेकेदारहरु आफ्नोआफ्नो क्षेत्रमा निकै राम्रो काम गरेर आएका हुन् । त्यहि अनुसार छनौट भएका हुन् । त्यसैकारण पनि उनीहरुले राम्रो काम गर्नेमा विश्वस्त छौँ । अझै भन्ने हो भने, अन्त पनि उनीहरुले धेरै राम्रो कामहरु गरेका छन् । उनीहरुले हामीलाई तोकिएको अवधीमा काम सकिसक्ने बताएका छन् । त्यसमा पनि हामी विश्वस्त छौँ । कामको सम्झौता अवधी दुई वर्ष रहेको छ । तर पनि व्याण्डविथ सेवा उपलब्ध गर्ने काम चाहिँ नौ महिनाभित्रमा सक्छौँ । किनभने हामीसँग अहिले कम क्इापासिटिको अप्टिकल फाइबर छ । त्यसलाई डिडब्ल्यूडिएम र राउटर सेटअप गरेर गर्न सक्छौँ । तर अप्टिकल फाइबरको कोर नेटवर्कहरु लिजिङ गर्नुपर्यो भने चाहिँ आयोजना नै सम्पन्न हुनुपर्ने हुन्छ ।

नेपाल टेलिकम सेवादिने हिसाबले अगाडी बढ्यो भन्ने कुरा आएपनि समस्या चाहिँ उस्तै आईरहेको भन्ने कुरा छ नि ? खास के हो ?

कुनै पनि सेवाहरु नम्बर वान हुनका लागि उसको कभरेज कहाँ कहाँ छ ? भन्ने कुरा आउँछ । हुम्ला, जुम्ला जस्ता क्षेत्र जहाँ जनजिवन पनि कठिन रुपमा गुजार्नुपर्ने वाध्यता छ, त्यहाँ हामीले मात्रै सेवा पुर्याएका छौँ । त्यो भएका कारण पनि हामी एक नम्बर नै हो । सय वर्षको इतिहास हामीसँग छ । हामी हरेक भुगोलमा पुगेका छौँ । प्राविधिक कुरा हो, कतिपय अवस्थामा समस्या हुनसक्छ । तर पनि हामी छिटो भन्दा छिटो हामीले त्यसलाई व्यवस्थापन गर्ने गरेका छौँ । विगतको वर्षको तुलनामा हेर्नेहो भने गुणस्तरमा हामी निरन्तर सुधार गर्दैछौँ । अन्तराष्ट्रिय गुणस्तर मापदण्डकै हाराहारीमा हामी पुगिसकेका छौँ । ग्राहक संख्या पनि हाम्रो धेरै नै छ । त्यसैकारण पनि म ढुक्कका साथ भन्छु,, दुरसञ्चार सेवा प्रदायक कम्पनीमा हामी एक नम्बर नै हो ।

तपाईं टेलिकममा एउटा जिम्मेवारीमा आईसकेपछि केकस्ता प्रगतीहरु भए, बताईदिनुहोस् न ।

सबैभन्दा पहिला त हामीले जुन एक करोड लाइन क्षमताको जिएसएम नेटवर्क थियो, त्यसमा भएको आयोजनाको प्याकेज ए भन्ने थियो । त्यसलाई सम्पन्न गर्न निकै मेहनत गर्यौँ । अहिले त्यो सम्पन्नको स्थितीमा पुगिसकेको अवस्था छ । त्यसले गर्दा हाम्रा कठिन भुगोलमा भएका जनतालाई सेवाको कभरेज पुर्याउने कुरा, सेवा नपुगेको ठाउँमा विस्ता जस्ता काममा हामीले सफलता प्राप्त गरेका छौँ । त्यसपछि हामीले डेटा नेटवर्कलाई बढावा दियौँ । जुन टु जी नेटवर्क भएको ठाउँमा ३ जी स्तरनोती गर्यौँ । पछिल्लो समय देशव्यापी रुपमा ४ जी सेवा विस्तार गरि सबै ठाउँमा पहुँचमा पुर्याउने सम्झौता गर्न हामी सफल भयौँ । जुन अहिले कार्यान्वयनको चरणमा छ । आगामी दशैसम्ममा हामीले मूख्य सहरहरु लगायत जनघनत्व बढि भएको ठाउँमा ४ जी सेवा सञ्चालन गरिसक्छौँ । एकवर्ष भित्रमा हामीले यो देशभरी नै यसको विस्तार गछौँ । त्यसपछिको अर्को काम भनेको अप्टीकल फाइबरको हो । जुन कार्यान्वयनकै चरणमा छ । त्यस्तै पीएसटीएन लाइन र एडीएसएलको डेटा रेट कम भएकाले, ग्राहकहरुलाई उच्च गतिको आवश्यक भएको हुनाले, हामीले यसलाई विस्तारै प्रतिस्थापन गर्दै फाइबर टु द होम (एफटीटीएच) नेटवर्क विस्तार गछौँ । यसको काम अघि बढि सकेको छ । यो अहिले शहर केन्द्रित छ भने पछिल्लो चरणमा शहरी क्षेत्रका हरेक घरहरुमा यो विस्तार हुन्छ । यस्का साथै ग्राहकहरुलाई सहज हुने किसिमले विशेष प्याकेज दिईरहेका छौँ भने कल शुल्क पनि सस्तो रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस