असार १५,काठमाडौँ । सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठका अनुसार अबको १० दिनभित्रै कलंकी अन्डरपास(वे निर्माणको काम सकिनेछ । साउनबाट त्यसलाई सञ्चालन गर्न विभागले चीनसँग अनुरोध गरिरहेको छ ।
अन्डरपास–वे सञ्चालन भएपछि कलंकी चोकमा सवारी आवागन निकै सहज हुनेछ । तर, जति सजिलो कलंकीमा हुनेछ, त्यति नै अप्ठ्यारो अब कोटेश्वरमा हुनेछ ।
अहिले कलंकीमा एउटा गाडीलाई कम्तिमा आधा घण्टा जाममा बस्नैपर्ने बाध्यता छ । पिक आवरमा त एक घन्टासम्म गाडीहरु कलंकीमै रोकिने गरेका छन् । अण्डरपास खुलेपछि कलंकीबाट सजिलैसँग गाडीहरु पास हुनेछन् ।
तर, अन्डरपास सञ्चालन भएपछि त्यहाँबाट छुटेका गाडीहरु अब कोटेश्वरमा गएर थुप्रनेछन् । अर्थात, कलंकीको अण्डरपास सञ्चालनमा आएपछि अब कोटेश्वरबाट बालकुमारीतर्फ गाडीको चाप निकै बढ्नेछ ।
उसै पनि कोटेश्वरमा पिक आवरमा अहिले दुई घण्टासम्म जाममा बस्नुपर्ने बाध्यता छ । खासगरी वीपी राजमार्ग भएर पूर्व जाने, अरनिको राजमार्गमा चल्ने तथा भक्तपुर र काभ्रेका ग्रामीण भेगमा जाने सवारीको चापले काटेश्वरमा सास्ती बढेको छ ।
धुलिखेतर्फबाट आउने गाडीहरु भक्तपुरको ६ लेनको सजिलो बाटोबाट छिट्टै काटेश्वर आइपुग्छन् । तर, चोकमा आइपुग्नुअघि नै लामो समय जाम बस्नुपर्ने बाध्यता छ ।
त्यसैगरी रिङरोड भएर आउजाउ गर्ने सवारीको संख्यामा पनि बढेको बढ्यै छ । रिङरोड विस्तारका कारण कलंकीबाट कोटेश्वरसम्म सहज रुपमा गाडी आउनेछन् । तर, कोटेश्वर चोकले ती गाडीहरुको चापलाई थाम्न सक्ने अवस्था छैन ।
अब कलंकीको अण्डरपास चलेपछि त्यताबाट आएका गाडीको लाइन पनि बालकुमारी पुलसम्मै पुग्ने आँकलन ट्राफिक प्रहरीको छ । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन कम्ति चुनौतिपूर्ण हुनेछैन ।