असार १५,ओखलढुंगा । उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा स्थानीय तहको निर्वाचनको परिणाम बदरको माग गर्दै परेका सबै रिट निवदेन खारेज भएका छन् ।
अदालतको कार्यक्षेत्रमध्ये उदयपुर, ओखलढुंगा र सोलुखुम्बुबाट परेका सात रिट निवेदन र ३ वटा मुद्दामध्ये ९ ओटाको अन्तिम फैसला भएको छ ।
अदालतका सुचना अधिकार्री श्वर आचार्यका अनुसार उत्प्रेषण, परमादेश र निषेधाज्ञा लगायतको आदेशबाट निर्वाचन परिणाम बदर, पुनः मत गणणा र पुनः मतदानको माग गरिएका सात वटा रिट दर्ता भएकामा सबै खारेज भएका छन् ।
त्यस्तै निर्वाचन बदर र निर्वाचित व्यक्तिको अयोग्यताका विषयमा अदालतमा दर्ता तीन मुद्दामध्ये एक फिर्ता र एक खारेज भएका छन् । सोलुखुम्बु जिल्लाको अयोग्यतासम्बन्धी एक मुद्दा मात्र अदालतमा विचाराधीन अवस्थामा रहेको उच्च अदालतका सुचना अधिकारी आचार्यले बताउनुभयो ।
‘स्थानीय तहको निर्वाचन ०७४ को परिणाम आएपछि निकटम प्रतिद्वन्द्वी मत परिणाम अस्वीकार गरे दर्ता गरेका १० मध्ये ९ को कनारा लगाइएको छ ’ उहाँले भन्नुभयो ।
मतपरिणाम अस्वीकार गर्दै ओखलढुंगाबाट चार, सोलुखुम्बु र उदयपुरबाट ३/३ ओटा मुद्दा दर्ता भएका थिए । रिट निवेदन एक वर्षभित्र टुग्यांउने अदालती कार्यविधी अनुसार ९ ओटा नै फैसला भइसकेको छ ।