सबै निर्माण कार्य ठप्प पार्ने नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी

जेठ २२, काठमाडौँ । साउन १ गतेबाट सबै निर्माण कार्य ठप्प पार्ने नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी दिएको छ । सार्वजनिक खरिद नियमावली (छैठौं संशोधन) २०७५ का केही बुँदा विरुद्ध आन्दोलित महासंघले बुधवार राजधानीमा राष्ट्रिय भेलामार्फत नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।

साउन १ अघिका लागि महासंघले आन्दोलनका अन्य कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसअनुसार व्यवसायीले सरकारलाई आफ्नो इजाजत पत्र बुझाउने, कार्यक्षेत्रमा कालोपट्टी बाँधेर काम गर्ने, निर्माण उपकरणमा पनि कालो झण्डा राख्ने लगायतका कार्यक्रम रहेका छन् ।

७७ जिल्ला प्रशासन कार्यालय, प्रदेशमा मुख्य मन्त्रीको कार्यालय तथा केन्द्रमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा व्यवसायीहरुले धर्ना दिने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । त्यस्तै सडकमा शान्तिपूर्ण र्‍याली निकाल्ने र पछि आ–आफ्नो हेभी उपकरणसहित प्रदर्शन गर्ने कार्यक्रम पनि महासंघले अघि सारेको छ । जेठ १४ बाट थालिएको टेण्डर बहिष्कारको आन्दोलनलाई पनि महासंघले निरन्तरता दिने भएको छ ।

राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको सुझाव विरुद्ध आएको नियमावलीका केही बुँदाले समग्र निर्माण क्षेत्रलाई तहसनहसन बनाउने बताए । त्यस्तै महासंघले सबै खाले टेण्डर बहिस्कार तथा सरकारलाई बुझाउने गरी इजाजत पत्र संकलन गर्ने काम भइरहेको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply