असार १६,काठमाडौँ । नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) साझा प्रतिवेदन तयार पार्न सफल भएको छ । १९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको शनिबार सम्पन्न बैठकले प्रतिवेदनमा सहमति जुटाएको हो ।
अब दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने सदस्य निलाम्बर आचार्यले जानकारी दिए । उनले भने, ‘ईजीपीको काम सफलतापूर्वक सम्पन्न भएको छ ।’
१९५० को सन्धी पुनरावलोकन गर्न भारत तयार भएपनि विषयबस्तुहरु बाहिर आएको छैन ।
दुबै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि मात्र विषयवस्तुहरु बाहिर आउने प्रबुद्ध समूह सदस्यहरुले बताएका छन् । ‘नेपालले जति पनि प्रश्न उठाएको छ, त्यसमा छलफल भएको छ’ समूहका सदस्य महेन्द्र पी लामाले भनेका छन्, ‘यत्रो समय पर्खिनुभयो । अब अरु विवरणका लागि केही दिन पर्खिनुस् ।’
प्रबुद्ध समूहका सदस्यहरुले रिपोर्टमा दिएको सुझावहरु कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् । ‘विगतमा के भयो, छाड्नुस् । अहिले भारत नेपाल सम्वन्धमा निकै न्यानोपन आएको छ’ लामा भन्छन्, ‘अब धेरै कुरा अगाडि बढ्नेछ ।’