‘शैक्षिक कर्जा’ सस्तो लोकप्रियता मात्रै ! युवाले भने– ‘अर्थमन्त्रीको कुरा हावादारी’

जेठ २९,काठमाडौँ । सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको कार्यक्रम एक वर्षमै फ्लप भएको छ । यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् ।

तर, सञ्चारमाध्यममा शैक्षिक कर्जा असफलता उन्मुख रहेको समाचार प्रकाशित भएपछि सप्तरीका एक युवा सम्पर्कमा आए । उनले आफूले सबै प्रक्रिया र दस्तावेज पूरा गरेर अनवरत प्रयास गर्दा पनि शैक्षिक कर्जा पाउन नसकेको गुनासो गरे । साथै आफूले विभिन्न निकायमा पठाएका उजुरी र कागजातको फेहरिस्त पनि उनले देखाए । उनले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिने प्रयास गरेका थिए ।

राजविराज नगरपालिका –७, हटिया स्थायी घर भएका रवीन्द्र साहको भनाइ यस्तो छ–

मैले स्नातकसम्मको अध्ययन गरेको छु । बुवा कृषिसम्बन्धी सामग्रीहरुको पसल चलाउनुहुन्छ । मैले शिक्षित बेरोजगारका लागि सरकारले उपलब्ध गराउने भनेको कर्जा लिएर बुवाको जस्तै ब्यापार गर्ने योजना बनाएको थिएँ ।

सहुलियत कर्जासम्बन्धी सूचना सञ्चारमाध्यमबाट थाहा पाएपछि म गत कार्तिक महिनामा नजिकै शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुगेँ । राजविराजस्थित सो बैंकका शाखा प्रवन्धक उमेश नेपालसँग प्रारम्भिक कुरा गरेँ । उहाँले आफ्नो बैंकबाट उक्त ऋण लिन समय लाग्ने भन्दै अरु बैंकमा जान भन्नुभयो । उहाँसित गरेको कुराकानीको अडियो रेकर्ड मसित छ ।

कर्जाका लागि चाहिने व्यवसायिक योजना, फर्म दर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाण पत्र लगायतका आवश्यक सबै कागजात मसित थिएँ । तर, जतिपटक जाँदा पनि ब्रान्च मेनेजर सापको जवाफ पुरानै आउँथ्यो, ‘अहिले हाम्रोबाट कर्जा दिन सक्दैनौं ।’

म धेरैपटक धाएँ, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय राजविराजमा । माघ महिनामा पनि मैले फलोअप गरेँ, तर पुरानै जवाफ आयो । समाचारमा जताततै सुन्छु, रकम बैंकले दिन्छ भन्छन्, तर मैले पाइन । केही नलागेपछि मैले नियामक निकायमा उजुरी गरेँ ।

मैले बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय राष्ट्र बैंकमा उजुरी गरेँ । अनि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय माताहतको हेल्लो सरकारमा समेत उजुरी दिएँ । राष्ट्र बैंकमा ईमेलमार्फत उजुरी गर्नुका साथै र टेलिफोनमार्फत पनि गुनासो राखेको थिएँ ।

तर कुनै सम्वोधन भएन । राष्ट्र बैंकमा पठाएको इमेलको जवाफ आएन । टेलिफोनमा पनि राम्रो रेस्पोन्स पाइनँ । एक जना म्याडमसँग धेरैपटक कुरा भयो । उहाँले काठमाडौं आएर नियमन विभागमा लिखित उजुरी गर्न भन्नुभएको थियो । तर, काठमाडौं जान मलाई धेरै गाह्रो थियो ।

मैले हेल्लो सरकारमा हालेको उजुरी दर्ता भयो । हेल्लो सरकारले दर्ता नम्बर उपलब्ध गरायो । तर हालसम्म उजुरीमाथि के कारबाही भयो भन्ने कुरा मलाई हेल्लो सरकारले जानकारी दिएको छैन । बरु हेल्लो सरकारले अर्थमन्त्रालयको ल्याण्डलाइन नम्बर दिएर त्यहाँ सम्पर्क गर्न भन्यो ।

मैले अर्थमा पनि फोन गरेँ । अर्थमा फोन उठाउने व्यक्तिले मेरो नाम, ठेगाना र मोवाइल नम्बर लिएर उजुरीमाथि कारबाही हुने आश्वासन पनि दिए । यस्ता आश्वासन धेरै पाएको थिएँ । फोनबाट गरेको उजुरीमा मन्त्रालयले ध्यान देला भन्ने लागेको थिएन । तर एक दिन अर्थ मन्त्रालयबाट फोन आयो । उजुरीमाथि कारबाही भएको एक कर्मचारीले जानकारी दिए । अब सोही बैंकमा गए कर्जा पाउने आश्वासन प्राप्त भयो ।

आफ्नो लामो फलोअप सफल भएको ठानेर दंग परेँ । आफू बाहिर भएकाले तत्कालै बैंकमा बुझ्न साथी बिवेक शाहलाई पठाएँ । तर मेरो खुसी धेरैबेर टिक्न सकेन । बैंकका शाखा प्रमुखले पुरानै जवाफ दिएर कर्जा दिन नसक्ने भन्दै साथीलाई फर्काइदिएछन् ।

त्यसपछि पनि मैले पटक–पटक फलोअप गरेँ । तर पाउने सम्भावना देखिएन । म त वाक्क भइसकेको थिएँ । केही दिनअघि अर्थमन्त्रीको भाषण सुन्दा त झनै दंग परे । अर्थमन्त्रीले युवाहरु सहुलियत ऋण लिन आएनन् भनेर हावादारी कुरा गर्दै थिए । म अर्थमन्त्रीलाई स्थलगत अवलोकन तथा अनुगमनका लागि आग्रह गर्छु ।

वाणिज्य बैंकको स्वीकारोक्ति

राष्ट्रिय वाणिज्य बैंक राजविराज शाखाले यतिबेला कर्जा उपलब्ध गराउनै नसकिने अवस्था रहेको बताएको छ । रवीन्द्रले कर्जाका लागि फलोअप गरिरहेको स्वीकार्दै राजविराज शाखा प्रवन्धक उमेश नेपालले आफ्नो शाखाबाट कर्जा वितरण गर्न नसकिने बताए ।

‘सहुलियत कर्जा मात्रै नभएर कुनै किसिमको कर्जा पनि अहिले उपलब्ध गराउन सक्ने अवस्थामा छैनौं,’ उनले भने ‘अपरेसन टाइट छ, असार मसान्त पनि नजिकिँदै छ ।’

पहिले चाहिँ किन नदिनुभएको त भन्ने प्रश्नमा उनले भने, ‘शुरु–शुरुमा आउनुभएकाहरुले आवश्यक प्रक्रिया पुर्‍याउनुभएको थिएन ।’

-रोयल आचार्य/अनलाइनखवर

संम्बन्धित समचार

Leave a Reply