जेठ २९,काठमाडौँ । तोकिएको समयभन्दा ढिलो गरी नागढुंगा सुरुङ मार्गको ठेक्का तोकिएको छ । बुधबार धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो जेभीले पाउने भएको हो । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ ।
ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको हाज्मा–आन्दो जेभीको आर्थिक प्रस्ताव भने अन्य कम्पनीको भन्दा बढी थियो ।
यसका कारण एक चिनियाँ कम्पनीले ठेक्का पाउने अवस्था आएको थियो । ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए ।
तर, जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो । तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था कारण सडक विभागलाई दाताको दबाव मान्न असहज अवस्था आएको थियो ।
तर, अन्तिममा हाज्मासँग वार्तामार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा सुरुङमार्गको ठेक्काा दिने सहमति गरिएको सडक विभागका एक इन्जिनियरले जानकारी दिए । अब हाज्माले यसअघि कबोल गरेको भन्दा ७० करोड रुपैयाँ काममा नै सुरुङमार्ग निर्माणको जिम्मा लिँदैछ ।
दातृ निकाय जापानी सहयोग नियोग ९जाइका०ले जापानी कम्पनीले ठेक्का नपाए नेपालमा सहयोग कटौति गर्नेसम्मको चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो । सम्झौताका लागि लागि जाइका स्वीकृति आवश्यक पर्छ ।
यो सुरुङमार्ग निर्माणमा टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग भने हुने छैन । विष्फोटक पदार्थ प्रयोग गरेरै सुरुङमार्ग निर्माण गरिने महाशाखा प्रमुख थापाले जानकारी दिए ।
हाजमा नेपालमा राम्रो काम गर्ने इतिहास भएको जापानी कम्पनी हो । काटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम यही कम्पनीले गरेको थियो । उसले नै बिपी राजमार्गको निर्माण गरेको हो ।
यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए ।
टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा यो सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।
सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।