असार ६,रसुवा । निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेको जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालले बताए ।
कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक भएको र उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जुटिरहेको प्रहरी प्रमुख ढकालले जानकारी दिए ।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले जानकारी दिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा उद्धार कार्य तीव्ररुपमा भइरहेको छ । घटनाको थप जानकारी आउन बाँकी रहेको छ ।