आर ६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ।
बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो।
चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ। यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ।
दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिइएको छ।
त्यस्तै चौथो बुँदामा रेलवेको सुरक्षामा अपनाउनुपर्ने उपायबारे अझै छलफल हुनुपर्ने र पाँचौं बुँदामा पर्यावरणमा पर्ने असर न्यूनीकरणमा वैज्ञानिक र प्राविधिक अध्ययन जरुरी भएको उल्लेख छ।
यी पाँच बुँदामा गुणस्तरीय अध्ययन भइसकेपछि मात्र बल्ल सम्भाव्यता अध्ययन गर्न सकिने चिनियाँ पक्षको भनाइ छ। बैठकमा सहभागी बेइजिङस्थित नेपाली दूताबासका मिनिस्टर सुशीलकुमार लम्सालले नागरिकलाई बताएअनुसार दुवै देशका प्रतिनिधि चीन र नेपाललाई रेलले जोड्न उत्साहित देखिए।