असार १० रौतहट । थुनुवा लिएर चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेको प्रहरीको भ्यान मंगलबार दिउसो दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको छ भने प्रहरी सहित ८ जना घाइते भएका छन् ।
थुनावा लिएर म्याद थप गराउन हिँडेको प्रहरी भ्यान गौरचन्द्रपुर सडकखण्डको बालचनपुर नजिक दुर्घटना हुँदा दुई जना थुनुवाको मृत्यु भएको हो ।
दुर्घटनामा चन्द्रपुर नगरपालिका–४ का २० वर्षीय मुकेश भन्ने निर्मल साह तथा सुनसरी इनरुवा-१ बस्ने ४० वर्षीय रमेशकुमार चौधरीको गम्भीर घाइते भएर उपचारको लागि विरगञ्ज लैजाँदा बाटोमै ज्यान गएको भएको प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवानद्वय हरिकिशोर चौधरी र अजय यादवलाई उपचारको लागि विरगञ्ज पठाइएको छ ।
नम्बर प्लेट नभएको प्रहरी भ्यान चलाइरहेका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाईँ, प्रहरी हवलदारद्वय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा थुनुवा कुमार गेलाल र टेकबहादुर तामाङ सामान्य घाइते भएकाले चन्द्रपुर अस्पतालमा उपचार भइरहेको रौतहट प्रहरीका एसपी भुपेन्द्रबहादुर खत्रीले बताए ।
घटनाबारे प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताउँदै एसपी खत्रीले गएको हप्ता थप गरिएको समय सकिन लाग्दा जिल्ला सरकारी वकिलको कार्यालयमा म्याद थप गर्न ल्याउने क्रममा उक्त दुर्घटना भएको जानकारी दिए ।