नगरपालिकामा किचलो : पाँच महिनापछि नगरप्रमुख कार्यालय आए !

Post Thumbnail

असार १०,सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका प्रमुख सियाराम राय पाँच महिनापछि कार्यालय आएका छन । नगरभित्र राजनीतिक किचलो बढ्दै गएको समयमा अस्वस्थताको कारण देखाउँदै नगरप्रमुख राय गत माघ दोस्रो साता उपप्रमुख चन्द्रकला देवी सुँढीलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइ अन्यत्र गएर बस्दै आएका थिए । नगरप्रमुख राय सोमवारदेखि कार्यालयमा हाजिर भएका छन । लामो समयपछि नगरप्रमुख आए पनि हरिपूर्वा नगरपालिका लथालिङ्ग अवस्थामा छ ।

आर्थिक वर्ष सकिन तीन साता मात्रै बाँकी हुँदा समेत नगरपालिकामा पूर्वाधार कार्यक्रमतर्फ कुनै पनि योजनाको सम्झौता हुन सकेको छैन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले आफू पनि भर्खरै नगरपालिकामा सरुवा भएर आएकाले ठूला खाले योजना यो वर्ष सञ्चालन गर्ने अवस्था नरहेको बताए । उनले वडाबाट छनौट भएका योजना अन्तर्गतका कृषि, स्वास्थ्य र विभिन्न सीपमूलक तालिमका लागि छनौट भएका योजना भने सञ्चालन भइरहेका जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत अहमदले असार २० गतेभित्र सम्पन्न गर्न सक्ने सानाखाले योजना सञ्चालन गर्न पहल भइ रहेको बताए। छोटो अवधीमा ठूला योजनाको सम्झौता हुन सक्ने अवस्था छैन्, ती योजनाहरु आगामी आर्थिक वर्षका लागि सारिने छ, प्रमुख प्रशासकीय अधिकृत अहमदले भने, सबै क्षेत्रमा लथालिङ्गको अवस्था रहेकाले विस्तारै सुधार गर्दै छौँ ।

नगरप्रमुख नहुँदा हरिपूर्वा नगरपालिकामा गत माघदेखि नगर कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन् । कार्यवाहक नगरप्रमुखले बीचमा पटक–पटक बैठक बोलाए पनि स्थगित भएको थियो । हरिपूर्वामा फरक–फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचमै विवाद हुँदा विकास निर्माणका काम ठप्प जस्तै छ ।

नगरप्रमुख सियाराम रायले पूर्वाधार निर्माणका काम नभए पनि कृषि, पशु, स्वास्थ्यलगायत क्षेत्रमा विनियोजित बजेट खर्च भइरहेको दावी गरे । आफू राजनीतिक किचलो थेग्न नसकेर नभइ अस्वस्थ्य भएर नगरपालिकामा उपस्थित हुन नसकेको नगरप्रमुख रायको भनाई छ । सन्चो नभएर नगरपालिका नआएको हुँ, राजनीतिक विवाद त छँदै छ, समाधानको प्रयास जारी छ, नगरप्रमुख रायले भने । उनले यो महिनाभित्र भ्याएसम्म योजनाहरु पूरा गर्ने गरी काम गरिरहेको बताए ।

स्थानीयवासीले भने आर्थिक वर्षको अन्तिममा हतार–हतारमा काम गर्दा गुणस्तरहीन हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । नगरप्रमुख नगरपालिकामा हाजिर नभएर बाहिरै बसेको र विकासका काम ठप्प भएको भन्दै केही साताअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हरिपूर्वा नगरपालिकामा धर्ना दिने तथा अन्य विरोध प्रदर्शनका कार्यक्रम गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस