विदेह नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड !

Post Thumbnail

असार ११,धनुषा । विदेह नगरपालिका कार्यालयमा बुधबार ढुंगामुढा र तोडफोड भएको छ । नगरपालिकाको कारबाहीमा परेका जनता नमुना मावि गिद्धा, बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले बुधबार नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएको मेयर बेचन दासको आरोप छ ।

‘हामीले कारबाही गरेर सरुवा गरेको प्रअ पवन मण्डलले ३०–४० जनाको समूहमा मान्छे ल्याएर नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएका हुन्’ मेयर दासले भने, ‘अस्ति बालबालिका प्रयोग गरेर कार्यालयमा तालाबन्दी गराएका थिए । शिक्षकको काम पढाउनु हो । राजनीति गर्नु होइन । तर पवन मण्डल गुण्डागर्दीमा उत्रेका छन्। ’

ढुंगामुढाबाट नगरपालिकाले भाडामा प्रयोग गरेको गाडी, कार्यालयको झ्यालको सीसा र भित्र पार्किंग गरिएको केही मोटसाइकलमा समेत क्षति पुगेको मेयर दासले जानकारी दिए । ढुंगामुढा हुँदै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेको मेयर दासको भनाइ छ ।

विद्यालयमा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले गएको वैशाख ५ गते प्रअ पवन मण्डललाई कारबाही गरी अर्को विद्यालयमा सरुवा गरेपछि विवाद चुलिएको हो ।

सरुवापछि नगरपालिका र कारबाहीमा परेका प्रअ मण्डलबीच विवादका कारण विद्यालयको पठन पाठनसमेत प्रभावित भएको छ भने समय समयमा शिक्षक र विद्यार्थीसमेतले एक अर्को पक्षबाट प्रदर्शन गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस