साझाले ४५ करोड रुपैयाँ खर्च गरेर बिजुली बस ल्याउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ १३, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १३,काठमाडौँ । साझा यातायातले ४५ करोड रुपैयाँ खर्च गरेर बिजुली बस ल्याउने भएको छ। प्रदेश ३ सरकार, काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायात सहकारीको संयुक्त लगानीमा बिजुली बस ल्याउने तयारी थालिएको हो। बिजुली बसमा प्रदेश ३ सरकारको ३० करोड, काठमाडौं महानगरको १० करोड, ललितपुर महानगरको २ करोड ५० लाख र साझाको २ करोड ५० लाख लगानी रहने छ। सो लगानीवापत साझाले सेयर स्वामित्व प्रदान गर्नेछ।

साझाले आगामी असार १६ गते देखि २० नयाँ सिटी बस संचालन गर्दैछ। सोही अवसर पारेर विजुली बसको लागि प्रदेश ३ सरकार, काठमाडौं महानगर, ललितपुर महानगर र साझा यातायातबीच बिजुली बसमा हुने लगानी सम्वन्धमा सम्झौता हुने छ।

भविष्यको आवश्यकतालाई महसुस गर्दै ३ नम्वर प्रदेशले विद्युतीय सवारीलाई प्रोत्साहन गर्न लागेको मुख्य मन्त्री डोरमणी पौडेलले बताए।

‘विद्युतीय सवारीको लागि १ वर्ष अगाडि नै रकम छुट्याएका थियौँ। त्यसमा चार्जिङ स्टेसन, नीति नियम लगायत प्रविधिक कारणले गर्दा होल्ड हुन पुगेको हो,’ मुख्य मन्त्री पौडेलले सेतोपाटीसँग भने ‘लगानीपछि ३ नम्बर प्रदेशले साझासँग शेयर खरिद गर्नेछ।’

अब ल्याइने बस धेरैजसो उपत्यकामा संचालन हुने उनले जानकारी दिए। ‘विद्युतीय सवारीका लागि सडक, पुर्वाधार, चार्जिङ स्टेसन लगायत धेरै कुरामा गृहकार्य गर्नु पर्छ’ पौडेलले भने।

उनका अनुसार हेटौंडा र काठमाडौं आउने बीचको ठाउँमा चार्जिङ स्टेसन बनाउने प्रदेश सरकारको योजना छ। ४५ करोड रुपैयाँमा करिब ३० वटा बिजुली बस आउने अनुमान छ।

जसमध्ये २० वटा बस काठमाडौंमा र अरु बस सडक राम्रो भएको हेटौडा–नारायणगढ खण्डमा पनि संचालन गर्न सकिने पौडेलले बताए। ३ नम्बर प्रदेशले विद्युतीय सवारी चल्न सक्ने सबै जिल्लामा संचालन गर्ने लक्ष्य लिएको उनले बताए।

‘संसारका विभिन्न देशले आफ्ना केही शहरहरुलाई विद्युतीय सवारी मात्र चलाउन पाउने बनाउँदै छन्। हामी पनि त्यही बाटोमा लम्किनु पर्छ। आफ्नो बिजुली सस्तोमा अरुलाई बेचेर, अरुबाट महंगोमा इन्धन किन्नु हुँदैन,’ मुख्यमन्त्री पौडेलले भने।

विद्युतीय सवारी संचालन गर्न चाहने निजी क्षेत्रलाई केही सहुलियत पनि दिइने उनले बताए। ४५ करोडले ३० वटाको हाराहारीमा विजुली बस खरिद गर्न सकिने विद्युतीय बस संचालन तथा बिक्री वितरणको तयारीमा रहेको सुन्दर यातायात ट्रेडर्सका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘विद्युतीय बस धेरै किसिमको हुन्छ। साझाले चलाउने जस्तो ४० सिटे, युरो ५ स्ट्याडर्डको बसलाई बिएके कम्पनीको करिब १ करोड ५२ लाख पर्छ जसमा हामीले १८ लाख पर्ने चार्जिङ स्टेसन पनि दिन्छौँ’ उनले भने।

विद्युतीय सवारी संचालनको लागि हालसम्म कुनै नीति नभएका कारणले बस संचालन गर्न निजी क्षेत्र निरुत्साहित भएको उनले बताए।

‘विद्युतीय सवारी संचालनको लागि नीति नै छैन, चार्ज गरेको चार्जिङ स्टेसनले कति पैसा लिने, भाडा कति लिने केही पनि स्पस्ट छैन,’ उनले भने।

विद्युतीय सवारीमा अन्यमा भन्दा भाडा कम हुनु पर्ने उनले बताए। ‘साझाको ठूला बस १ लिटर डिजलमा ३।५ किलोमिटर गुड्छ। यत्तिकै क्षमताको विद्युतीय गाडी २.५ युनिटमा ७ किलोमिटर गुड्छ त्यसकारण भाडा घट्नु पर्छ,’ थापाले भने।

ताजा अपडेट

खोजी गर्नुहोस