फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने, सोमबारबाट थुप्रिएको फोहोर उठ्ने

असार १५,काठमाडौँ । काठमाडौंको फोहोर बोकेको गाडीलाई सिसडोलबासीले अवरोध नगर्ने भएका छन् । आइतबार भएको सिसडोलका स्थानीय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच भएको सहमति पछि अवरोध हट्ने भएको हो ।

नुवाकोटको सिसडोलबासीले काठमाडौंबाट फोहोर बोकेका गाडीलाई ५ दिनदेखि अवरोध गर्दै आएका थिए । उनीहरुले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेका थिए ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ । महानगर र आन्दोलनरत पक्ष दुबैको तर्फबाट प्रतिनिधि रहने गरी १३ सदस्यीय समिति गठन गरिएको थियो । समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

‘संयोजक समितिको पहिलो बैठकले तोक्ने गरी १३ सदस्यीय समिति गठन भएको छ,’ बैठकमा सहभागी महानगरका एक अधिकारीले भने, ‘समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउनेछ र प्रतिवेदनअनुसार नै मागहरु पूरा हुनेछन् ।’

स्थानीयको आन्दोलनले काठमाडौंका सडक किनारामा थुप्रिएका फोहोर व्यवस्थापनमा कठिनाइ भएको थियो । शनिबार भने प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । शनिबार केही स्थानीय र प्रहरी घाइते भएका थिए ।

यता आइतबार काठमाडौंमा वाल्मीकि क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनी मार्गमा केहीबेर विद्यार्थीहरुले बाटोमा आगो बालेर सवारी आवागमन नै ठप्प पारेका थिए । पछि सामान्य बल प्रयोग गरेर प्रहरीले अवरोध हटाएको छ ।

संम्बन्धित समचार

Leave a Reply