हुम्लामा धार्मिक पर्यटनले बढायो आम्दानी

  • अनलाइन केन्द्र
  • / इन्स्योरेन्स /
  • २०७६ अषाढ १६, सोमबार (५ साल अघि)
  • ६२ पटक पढिएको
Post Thumbnail

असार १६,काठमाडौँ । मानसरोवर कैलाशको प्रवेश द्वारका रूपमा परिचित हुम्लामा रोजगारी र आय आर्जनका लागि धार्मिक पर्यटन गतिलो स्रोत बनेको छ । केही वर्षयता हवाईजहाजबाट हुम्ला हुँदै भारतीय पर्यटक मानसरोवर जान थालेकाले यहाँ पर्यटकीय चहलपहल बढेको छ ।

केही वर्ष अघिसम्म बारीमा उत्पादन भएको तरकारी पनि बिक्री गर्न यहाँ कठिन थियो । किसान दन्त रावत पर्यटकका कारण तरकारीले भाउ पाएकोमा दङ्ग छन । एक सिजनमा तीन लाख रुपियाँसम्म तरकारीबाटै आम्दानी हुने उनको भनाइ छ ।  उत्पादित तरकारी होटेलहरूमा खपत हुने गरेको छ ।
तरकारीमात्र नभई होटेलहरूमा दाउराको खरिदबिक्री पनि ह्वात्तै बढेको छ । विशेष गरेर सिमकोट गाउँपालिका–७ र खार्पुनाथ–४ बाट दाउरा धेरै आउने गरेको छ । त्यसले झन्डै ७० जनाको रोजगारी सिर्जना भएकोे सिमकोट–७ डाँडाफयाका जयबहादुर
शाही बताउछन ।

कतिपयले आफैँ बोकेर ल्याउने गरेका छन् भने कतिले गधा र खच्चडमा बोकाएर पनि दाउरा बिक्री गरेर आफ्नो जीवन चलाइरहेका छन् । एक सिजनमा मात्र झन्डै २० लाख रुपियाँको दाउरा बिक्री हुने शाहीको अनुमान छ ।

एक दसकयता सघन रूपमा मानसरोवर कैलाशको यात्रा सुरु भएपछि अर्को प्रत्यक्ष आम्दानीको स्रोत भरिया पेसा भएको छ । सिजन सुरु हुँदा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काममा व्यस्त हुनुपरेको भरिया हंशे कामीले बताए ।

विमानस्थलबाट होटेल, होटेलबाट विमानस्थल भारी बोकेरमात्र दैनिक तीन हजार रुपियाँसम्म आम्दानी हुने गरेको उनले सुनाए। आफूले मात्र नभई श्रीमतीले पनि यही पेसा अँगाल्दै आएको उनले बताए । हाल सिमकोटमा असीभन्दा बढी भरियाले काम पाइरहेका छन् । निजी क्षेत्रका एयरलाइन्स र हेलिकोप्टर, इन्धन कम्पनी सिमकोटका होटेल व्यवसाय सबै धार्मिक पर्यटनले फस्टाएको छ ।

हाल सिमकोटमा पर्यटकीय होटेल २० वटा छन् । ती होटेलमा कम्तीमा एक सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको अवस्था छ भने अप्रत्यक्ष रूपमा त्योभन्दा बढी रहेको होटेल व्यवसायी सङ्घका अध्यक्ष मीम तामाङले बताए ।

यो सिजनमा सात सय भारतीय धार्मिक यात्रीलाई सेवा दिइसकेको उनले जानकारी दिए । सिमकोटका पर्यटकीय होटेलले एक रात पर्यटक बसाउँदा दुई हजार चार सय रुपियाँ लिँदै आएका छन् ।

यो क्षेत्रबाट सिमकोट र नाम्खा गाउँपालिकालाई पनि फाइदा भएको छ । यी दुई गाउँपालिका मिलेर सिमकोट विमानस्थलमा प्रत्येक पर्यटकबाट सरसफाइ शुल्क उठाउँदै आएका छन् । सार्क क्षेत्रका पर्यटकलाई एक हजार एक सय र तेस्रो देशका पर्यटकलाई एक हजार पाँच सय रुपियाँ लिने गरिएको छ ।
चालू आर्थिक वर्षमा सिमकोट विमानस्थल हुँदै हिल्सा भएर मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने सङ्ख्या चार हजार ५५६ जना पुगेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए।

यसबाट यी दुई गाउँपालिकाले पचास लाख ११ हजार छ सय शुल्क सङ्कलन गरिसकेका छन् । यो शुल्कबाट उठेको नगदलाई सिमकोटले ६० र नाम्खा गाउँपालिकाले ४० प्रतिशत लिँदै आएका छन् ।

पर्यटकीय चहलपहलले सिमकोट बजारको चमक बढेको विनिता जनरल स्टोरकी विनिता खड्काले बताए । अन्य सुनसान भएका बेलाको व्यापार मानसरोवर कैलाशको सिजनले केही भए पनि सहयोग गरेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस