असार १९,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको छ । इन्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
करीब तीन महिनाअघि महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।
सार्वजनिक ठाउँमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको हो । हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले ती ठाउँमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपा सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।
उनका अनुसार अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान महानगरपालिकाले गरेको थियो । प्रयोकर्ताको संख्या वृद्धि भएपछि थप्नुपर्ने देखिएको हो ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात ठाउँमा र पछि नागरिकको आवश्यकता हेरी अरु ठाउँमा पनि राखिने बताए । यसअघि महानगरपालिकाले रत्नपार्कबाट यस्तो सुविधा प्रदान गरिसकेको छ ।