चिनकाजी श्रेष्ठ, नेता नेपाली कांग्रेस
चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक नेपाली कांग्रेसले फिर्ता लिन माग गरेको छ । यही विवादका कारण सत्तापक्ष र प्रतिपक्षीबीच संसद र सडकमा चर्काचर्की चल्ने संकेत प्रष्ट देखिएको छ । विधयेककै कारण कांग्रेसले संसदमा कडा प्रतिवाद समेत गरेको छ । खासमा कांग्रेस विधयेकको विपक्षमा लागेको किन ? कतै गोविन्द केसीकै लाईनमा कांग्रेस उभिएको हो ? चिनकाजी भन्छन-‘चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको चट्टानी अडान रहन्छ’ यिनै विषयमा अनलाईन केन्द्रले कांग्रेस नेता श्रेष्ठसँग गरेको कुराकानी–
डाक्टर गोविन्द केसीको लहलहैमा लागेर चिकित्साशिक्षा विधेयकको विरोधमा लाग्नुभयो होइन ?
– डाक्टर केसीको लहलहैमा लागेर भन्नुभन्दा पनि यो विधेयक पहिला अर्कै ढंगको थियो । सुशील कोइरालाको पालादेखि पटक पटक फेरबदल भएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा डा. केसीसँग वार्ता गरेर तयार पारेको थियो । त्यसबेला संसदले पास गर्न पाएको थिएन । अहिले सरकारले संसदमा प्रस्तुत गरेको विधेयक तोडमोड गरेर अर्कै ढंगले प्रतिस्ठापन विधेयकको रुपमा प्रस्तुत भएको छ । हामीले यसैको विरोध गरेको हो ।
अध्यायदेशद्वारा आएको, तर त्यसलाई प्रतिष्ठापित गर्नका लागि विधेयक ल्याउनुपर्ने थियो । संसद चलेको ६० दिनभित्र त्यसलाई संसदमा पेस गर्नुपर्छ ।
प्रतिष्ठापित विधेयकको रुपमा प्रस्तुत भएपछि अध्यायदेशमा भएको व्यवस्था खारेज हुन्छ । त्यसबेला माओवादी सरकारमा थियो, एमालेको पनि समर्थन नै थियो । संसदको सामाजिक समितिमा सबै पार्टीका साथीहरु भएका बेलामा एक किसिमले सहमति गरेरै ल्याइएको हो । त्यहीअनुसार अध्यायदेश ल्याइएको हो । तर सरकारको नियत नै खराब देखियो ।
उपत्यकामा मेडिकल कलेज खोल्न नदिने विषयमा कांग्रेस पनि सहमति हो ?
– कांगे्रस पार्टीसँग मात्र सहमति होइन, संसदमा सबै पार्टीहरुबीच सहमति भएकै विषय हो । तत्काल त्यो विधेयक पास गर्न नभ्याएकाले सरकारले अध्यायदेशका रुपमा ल्याएको थियो । त्यसकारण कांगे्रसको कुरा मात्र होइन, सरकारको हो । सरकारमा माओवादी पनि थियो, अरु दल पनि थियो ।
त्यो बेला सहमति भएको भए अध्यायदेशबाट किन ल्याउनु पर्यो ?
– डा. गोविन्द केसीसँग सम्बन्धित अरु संघसंस्था र सरकारमा रहेका नेता, सांसद र प्रतिपक्षी नेताहरुको भावनालाई समेटेर अध्यायदेश ल्याइएको हो ।
त्यो अध्यायदेशमा कांगे्रसका कतिपय संसदको पनि फरक मत थियो । त्यत्ति हुँदा पनि मध्यममार्गका रुपमा उक्त अध्यायदेश अघि बढाएको हो । त्यसबेला निर्वाचनको कारण तुरुन्त अन्त्य गर्नुपर्ने थियो । निर्वाचनको घोषणाले गर्दा संसद धेरै रहन सक्ने अवस्था भएन ।
चिकित्सा शिक्षा विधयेकमा कांग्रेसको स्पष्ट लाईन के हो ?
– प्रकृयागत रुपमा विधेयक पास गर्नुपर्छ । विधेयक म्याचुट भएर पास हुन १५–२० दिन लाग्छ । सबै एमाले सांसदको चासो होइन, एमालेभित्र पनि दुई किसिमको विचार आयो । माओवादीको कुरै छाडौं, जस्तो आएको थियो, त्यसैमा माओवादीको समर्थन थियो ।
एमालेभित्र एकखाले सहकारीका रुपमा मनमोहन मेडिकल कलेज खोलेको छ । त्यसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न खोजिएको छ । विश्वविद्यालय त्यत्तिकै स्थापित हुँदैन, त्यसका लागि विभिन्न पूर्वाधार चाहिन्छ । सहकारीको माध्यमबाट विश्वविद्यालय काहिँ चल्छ रु यसभित्र धेरै गहिरो कुराहरु छन् । यसभित्र सांसद र केही नेता संलग्न छन् ।
काठमाडौंमा मेडिकल कलेज धेरै भयो, डाक्टर बनाउने कुरा चानचुने होइन । मेडिकल कलेज खोल्न प्रावधान राखिएको छ । राखिएको प्रावधान नराम्रो होइन । सुरु गर्नका लागि स्वीकृति दिन मिल्छ । स्वीकृति पाएको ३ वर्षभित्र मापदण्ड पूरा गर्नुपर्छ । राम्रो ढंगले कलेज सञ्चालन गरेपछि मात्रै सम्बन्धन प्राप्त गर्ने हो । विभिन्न खालको मत छ, त्यसैले गोविन्द केसीसमेतसँगको छलफलबाट निचोडको रुपमा आएको विधेयकलाई तोडमोड गरेर विधेयक ल्याइँदैछ । जथाभावी ढंगले मेडिकल कलेज खोलेर डाक्टरजस्तो सम्वेदनशील पेशाको स्तर गिर्ने खालको विधेयक आउँदैछ । डाक्टरी पेशाको स्तर गि¥यो भने मानवीय जीवनमा त्यसले कति असर पार्ला ?
अडियोमा सुन्न यहाँ क्लिक गर्नुहोस् ।