असार १९,काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन् । आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।
रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने, ‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाइन्छ ।’
उनले कालिमाटी फलफूल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढी लिएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए ।
‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिएको भेटियो । दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो,’ मन्त्री खनालले भने, ‘यो हदैसम्मको लापरबाही हो । समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु ।’ उनले भने ।