असार २९,काठमाडौँ । आईसीसी एकदिवशीय विश्वकपको उपाधिका लागि आयोजक इंग्ल्याण्ड र पछिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकप फाइनल क्रिकेटको घर भनेर चिनिने लन्डनको लर्डस् मैदानमा नेपाली समयअनुसार दिउँसोको सवा ३ बजेदेखि सुरु हुनेछ ।
२७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ ।
अघिल्लो संस्करणमा पहिलो चरणबाटै लज्जास्पद पराजय ब्यहोरेर बाहिरिएको इंग्ल्यान्डले त्यसलगत्तै भएको ५ एकदिवशीय सिरिजमा न्युजिल्याण्डलाई ३–२ ले पराजित गरेको थियो ।
यसअघि तीन पटकसम्म फाइनलमा पुगेर जित्न नसकेको उपाधि सपना यसपल्ट इंग्लिस खेलाडीहरु साकार पार्न चाहन्छन् । इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ को विश्वकपको उपविजेता हो ।
विश्वकप उपाधिकै मुख्य दावेदार र लिग चरणमा शीर्ष स्थानमा रहेको भारतलाई धुलो चटाउँदै फाइनलमा पुगेको न्यूजिल्याण्डका लागि सबैभन्दा ठूलो प्रोत्साहन र आत्मविश्वास नै त्यही हुनेछ ।
शीर्ष क्रमले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न नसक्नु न्यूजिल्याण्डको प्रमुख समस्या हो । तर, अनुभवी रस टेलर र केन विलियमसनले अहिलेसम्म ब्याटिङस्तर खस्कन दिएका छैनन् ।