साउन १, काठमाडौँ । फ्रान्सेली युवा फरवार्ड किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिनामो ड्रेसडेनलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।
खेलको छैटौं मिनेटमा नै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । उनले चिप सटमा दर्शनीय गोल गरेका थिए । १८ औं मिनेटमा एम्बाप्पेकै पासमा जर्मन मिडफिल्डर जुलियन ड्राक्सलरले अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन झन्डै १० मिनेट बाँकी रहँदा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को अग्रता दिलाए ।
दोस्रो हाफको २१ मिनेटको अन्तरमा आर्थर जागरे, विरिगीलु पोस्तोलाची र आदील ओउचिचेले गोल गर्दै पीएसजीलाई ६-० ले अगाडी बढाए । एम्बाप्पे लगायत स्टार खेलाडीले ६० मिनेटसम्म मात्र खेलेका थिए । ड्रेसडेनका मुसा कोनेले पेनाल्टीमा सान्त्वना गोल गरे ।
यसै खेलबाट स्पेनिस मिडफिल्डर आन्दर हरेराले पीएसजीबाट डेब्यु गरे । उनी म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा पीएसजी पुगेका हुन् । सेभिल्ला छाडेर पीएसजी पुगेका पाब्लो सरबियाले पनि डेब्यु गरे । ब्राजिलियन स्टार नेयमार भने क्लबले तोकेभन्दा ढिलो प्रशिक्षणमा आएपछि खेलमा सहभागी भएनन् । एजेन्सी