साउन १, काठमाडौँ । नेदरल्यान्ड्स राष्ट्रिय टोली तथा आयाक्सका १९ वर्षीय डिफेन्डर म्यथिस डे लिग्ट इटालियन च्याम्पियन युभेन्टस आउने पक्का भएको छ । उनी मंगलबार युभेन्टस पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
इटालियन संचार स्रोतले अनुसार डे लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० मिलियन पाउन्ड रहेको छ । उनको वार्षिक तलब ७.२ मिलियन पाउन्ड र बोनस हुने उल्लेख गरिएको छ ।
१९ वर्षीय डी लिग्टलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च लिग वान क्लब पीएसजी कसरतमा रहेका थिए । गत जुनमा यूईएफए नेसन्स कपका दौरान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आफुलाई युभेन्ट्समा आउन आग्रह गरेको नेदरल्यान्ड्सका डिफेन्डरले खुलाएका थिए ।
आयाक्सलाई गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनल पुर्याउन डे लिग्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आयाक्सलाई लिग च्याम्पियन पनि बनाएका थिए । नेदरल्यान्ड्सबाट खेल्दै यूईएफए नेसन्स लिगको उपविजेता बनेका उनको टोली पोर्चुगलसँग फाइनलमा पराजित भएको थियो । एजेन्सी