संसदीय उपसमितिको निष्कर्ष : ह्वासिन सिमेन्टले ईआइए प्रतिवेदनलाई अटेर गर्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ३, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाँउपालिका वडा नं. २ स्थित ताल्तीमा निर्माणाधिन हुवासिन सिमेन्टले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अटेर गरेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उपसमितिले धादिङमा निर्माणाधिन हुवासिन सिमेन्टले वातावरणीय मुल्याङ्कन अनुसारको सर्तलाई सरासर अटेर गर्दै बेवास्ता गरेको निष्कर्ष निकालेको हो ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाँउपालिका वडा नं. २ स्थित ताल्तीमा सञ्चालनको तयारीमा रहेको उद्योगले शर्त पालना नगरी गजुरी र बेनिघाट रोराङ गाँउपालिकाको सिमानामा बग्ने मलेखु खोला कब्जा गरेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिलको ठहर छ ।

उद्योगले शर्त पालना नगरी गजुरी र बेनिघाट रोराङ गाँउपालिकाको सिमानामा बग्ने मलेखु खोला कब्जा गरेको भन्दै लेखा समितिमा स्थानिय समेत रहेका नेकपाका नेता तथा सांसद राजेन्द्र प्रसाद पाण्डे लगायतले उद्योगले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अटेर गरेको तथा प्रभावित क्षेत्रको रोयल्टी वितरणका विषयमा प्रश्न उठाउँदै उजुरी गरेका थिए ।

प्रभावित क्षेत्रमा धादिङ जिल्ला तर्फको दुई वटा गाउँपालिका तथा मकवानपुरको मनहरी समेत गरी ३ गँउपालिका पर्ने भए पनि सिमेन्ट उद्योगले बेनिघाट रोराङ गाँउपालिकालाई मात्र प्रभावित क्षेत्र मानेको भन्दै समितिमा उजुरी परेको थियो । सिमेन्ट उद्योग स्थापना गर्ने बेनिघाट रोराङ र गजुरी गाउँपालिका बीच सुरुवाती चरण देखीकै विवाद अझै कायमै छ ।

‘सिमेन्ट उद्योग निर्माणस्थल जाने ठाउँमा ११ किलोमिटर बाटो मलेखु खोलालाई अतिक्रमण गरी खोलाको किरानामै बनाइएको छ’ स्थगलत अध्ययनमा गएका उपसमितिका एक सदस्यले भने, ‘खोला ६ मिटर गहिरो बनाएर त्यहाँको ढुङ्गा बालुवा निकालेर सडक बनाइएको छ।’ त्यो सरासर गलत छ, उपसमितिका एक सदस्यले बताए ।

उपसमितिले सडक निर्माण गर्दा खोलाको धार समेत परिवर्तन भएको र त्यसकै कारण ठुलो परिणाममा सिँचाइ हुने खेतवारी समेत प्रभावित भएको ठहर गरेको छ । समितिमा सिमेन्ट उद्योग स्थापनाका लागि ३५ मेगावाट क्षमताको विद्युत प्रशारण लाइन निर्माण गरिएको तर मुआब्जा वितरण समेत नगरीएको नगरिएको उजुरी परेको थियो ।

‘हामीले त्यो सिमेन्ट उद्योगबाट प्रभावित हुने तीन वटा गाउँपालिका देखेका छौँ’, स्थलगत अवलोकन गर्न गएका ती सांसदले भने, ‘क्षतिपूर्तीनै नदिएको देखिन्छ । रोयल्टी पनि एउटा मात्र गाउँपालिकाले नभई तीन वटैले पाउनुपर्ने देखिन्छ ।’

ती सदस्यका अनुसार डोजरले खनेको खाल्डोमा परेर एक बालकको ज्यान गएको छ भने अर्का एक कामदारको मृत्यु भएको छ । सिमेन्ट उद्योगबाट उत्पन्न हुने आवाजले विद्यालय प्रभावित हुने देखिएको तर त्यसमा वेवास्ता गरिएको उपसमितिले ठहर गरेको छ ।

उपसमितिले सिमेन्ट उद्योगलाई वार्षिक जम्मा १ लाख रुपैँया लिने गरी ५० हजार रोपनी जग्गा भाडामा दिँदा आर्थिक अनियमितता भएको समेत आशंका गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाले उक्त जग्गा सिमेन्ट उद्योगलाई लिजमा दिने निर्णय गरेको थियो ।
‘त्यहाँ चेपाङसँग सस्तोमा जग्गा उठाएर फेरी पछि सिमेन्ट उद्योगलाई बेचेर लाखौँ कमाउने काम भएको छ’ उपसमितिका एक सदस्यले भने, ‘त्यहाँ राजनीतिक लडाँइ पनि देखिन्छ ।’

सिमेन्ट उद्योग जसरी पनि स्थापना गर्ने पक्षमा नेकपा धादिङका प्रतिनिधि सभाका सांसद भूमी त्रिपाठी छन् । त्रिपाठी जस्तै प्रदेश ३ का मन्त्री शालिकराम जमरकट्टेल बेनिघाट रोराङ गाँउपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी हरी लगायत उद्योग अगाडि बढाउने पक्षमा छन् । त्रिपाठी, जमरकट्टेल र डल्लाकोटीका आफन्त तथा तिनका नजिकका कार्यकर्ता मात्र उद्योगसँग आबद्ध देखिएको समेत ती सदस्यले बताए ।

‘गाउँपालिकाले अरुसँग रोयल्टी बाँड्न नखोजेको देखिन्छ’ उपसमितिले प्रतिवेदनमा भनेको छ, ‘प्रभावित क्षेत्रलाई व्यवस्थित बनाएर वातावरणीय मुल्याङ्कन प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने निष्कर्ष छ।’

धादिङमा बन्ने उक्त सिमेन्ट कारखाना चिनियाँ लगानीमा निर्माण हुन लागेको हो । १५ अर्बको सिमेन्ट उद्योग अहिले धमाधम निर्माण चरणमा छ । खानी विभागले यसअघि नै ४ वर्षका लागि उद्योगलाई खानी उपलब्ध गराइ सकेको छ । उद्योगले सर्त पालना गरे नगरेको विषयमा लगानी बोर्डले समेत अध्ययन गरिरहेको छ ।

केहि दिन अघी मात्र भारी बर्षातका कारण मलेखु खोलामा आएको बाढिका कारण निर्माणधिन सिमेन्ट उद्योगमा बाढी पसेर क्षती पु¥याएको छ । मलेखु खोलालाई नियन्त्रण गरी निर्माण थालिएको १५ अर्व लगानीको सिमेन्ट उद्योगमा बाढी पस्दा उद्योगको स्टोर, निर्माण कम्पनीको ३ वटा जीप, दुई वटा डोजर वगाएर क्षति पु¥याएको उद्योगका जनसम्पर्क अधिकृत तुलसीजंग थापाले जानकारी दिनुभयो ।

बाढीका कारण सिमेन्ट उद्योगको मुल स्टोरमा क्षति पुगेको छ । उद्योगमा पुर्वाधार निर्माणका लागि काम गरिहेको कम्पनीले प्रयोग गरिरहेको ३ ओटा जीप र दुई वटा डोजर बाढीले बगाएको हो । निर्माण स्थल बाढीले भरिएको छ । उद्योगका संरचनाहरु बढीमा पुरिएको छ ।

चार महिना अघि संघीय संसदका सभामुख कृष्णवहादुर महराबाट शिलन्यास भएको हुवासिन सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम भईरहेको छ । पृथ्वीराजमार्गको मलेखु्बाट ११ किलोमिटर दक्षिणमा रहेको ताल्तीमा ६ सय २० जना कामदार तीन सिफ्टमा निर्माणको काममा जुटेका छन् । उद्योग निर्माणको काममा २ सय ७० जना चिनियाँ र ३ सय ५० जना नेपाली कामदार खटिएका छन । चिनियाँले उद्योग निर्माण सम्पन्न गर्ने डेडलाइन १० महिना तोकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस