भिभिआईपीको ओहोरदोहोरले हेटौडा सडक अस्तव्यस्त !

Post Thumbnail

असार २१,काठमाडौँ । पुराना घरैघरले घेरिएको हेटौंडाको मुख्य बजारबीच दुई लेनको सडकका दायाँबायाँ हरिया अशोकका रुखले सुन्दर देखिन्छ । तर प्रदेशको राजधानी भएपछि बजारको मुख्यक्षेत्र बुद्धचोकमा दिनहुँ हुने जामले पुरै हेटौंडा बजारलाई अस्तव्यस्त बनाएको छ ।

चारैतिर जोडिएको सडककोबीच चोकमा चार जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी रोकिएका गाडीलाई चोकबाट गन्तव्यतर्फ पठाउँदैछन् । गाडी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म त पानी पिउने फुर्सद पनि हुँदैन । बुद्धचोकबाट रातोमाटे, चौकीटोल, थानाभर्‍याङ, कान्ति राजपथका सडक हुँदै गन्तव्यतर्फ जाने गाडीसँगै एम्बुलेन्ससमेत जाममा पर्छन् ।

तीन नम्बर प्रदेशको राजधानी बनेसँगै हेटौंडामा दिनहुँ ट्राफिक जाम हुन थालेको हो । १३ जिल्लाका सांसदहरु हेटौंडामा छन् । सातवटा मन्त्रालयका मन्त्रीहरु झण्डा हल्लाउँदै र साइरन बजाउँदै सडकमा ओहोरदोहोर गर्छन् । मन्त्री र सांसदका गाडीसँगै प्रदेश मन्त्रालयमा काम गर्ने कर्मचारीका गाडी पनि थपिँदा सडकमा जाम बढेको हो । त्यसमाथि नियमित चल्ने गाडी त छँदैछन् ।

प्रदेश ३ को राजधानी १ र २ नंवर पस्ने पुरानो गौडो पनि हो । त्यसैले १ नम्बर र २ नम्बर प्रदेशका मन्त्री, सांसदहरु र अरु कर्मचारीहरु पनि यही सडक भएर ओहोरदोहोर गर्ने भएकाले हेटौंडाको मुख्य सडकमा बढी जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्रकुमार ठाकुर बताउछन ।

हेटौंडाको बुद्धचोक, सीमाचोक, पारिजातपथ, कान्ति राजपथलगायतका क्षेत्रमा सबैभन्दा बढी जाम हुने गरेको छ । ‘चारवटै क्षेत्रबाट आउने गाडी बुद्धचोकमा नै भेट हुने भएकाले बढी जाम हुने गरेको हो’ ट्राफिक प्रमुख ठाकुरले भने, ‘हामी बिहानैदेखि जाम हुन नदिन खटिएको खटिएकै छौं । तर चारैतिरबाट सरकारी र निजी गाडीको चापका कारण केही बेर जाममा बस्नुपर्ने बाध्यता छ ।’

प्रदेश राजधानी बनेसँगै कार्यालय समय बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म सडक जामको समस्या बेहोर्नुपरेको माईक्रोबसका चालक हेटौंडा १९ का कुमार लामाले बताए ।

१ नम्बर प्रदेश, २ नम्बर प्रदेशसँगै तीन नम्बर प्रदेशका सरकारी कर्मचारी, ठूला नेता, मन्त्रीहरु भारतबाट सिधै सडकमार्ग भएर काठमाडौं जानेहरुको भेट हेटौंडामा नै हुन्छ । त्यसैले पनि हेटौंडामा सवारी चाप बढेको ट्राफिक प्रहरीको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस