साउन ११,काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता ‘साग’ निर्धारित समयमा नै हुने भन्दै शंका नगर्न आग्रह गरेका छन ।
नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पूर्वाधारका कारणले खेल नरोकिने बताए ।
उनले केही खेलका लागि वैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पारे। प्रतियोगिता गर्न राष्ट्रले प्रतिबद्धता जनाइसकेकाले कुनै पनि बहानामा त्यसबाट पछि हट्न नमिल्ने उनले तर्क गरे ।
उनले सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भए पनि त्यसबारे सम्बन्धित निकायमा आफूले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत् गएर भए पनि प्रतियोगिता सञ्चालन गरिने बताए । साथै प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि उनले जानकारी गराए।
रंगशाला निर्माण, रंगशालासम्मको सडक विस्तारलगायत खेलका पूर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढिरहेको छ । यही सन्दर्भमा नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि बहानामा नरोकिने बताएका छन ।