नेपालसामु सिंगापुरले राख्यो १ सय ९२ रनको विशाल लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १२, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १२, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो ।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।

त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए ।

त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।

आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।

आजको खेलको विजेता अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।

हाल सिंगापुर ५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस