साउन १२,काठमाडौँ । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट एसियाली छनोटको अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएको छ। सिंगापुरको इन्डियन एशोसियसन मैदानमा आज भएको खेलमा नेपाल सिंगापुरसँग ८३ रनको फराकिलो अन्तरले पराजित भयो। टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो। सिंगापुरका लागि सर्वाधिक रन टिम डेभिडले ७७ रनको पाली खेले त्यस्तै रोहन रंगराजनले ४९ रन बनाए।
सिंगापुरका विकेटकिपर मनप्रित सिंह ४२ रन बनाए। नेपालका अविनाश बोहराले ४ विकेट लिँदा करण केसीका नाममा एक विकेट रहयो। १ सय ९२ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले १५ औं ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। नेपालका लागि ओपनर कप्तान पारस खड्का १२ रन बनाएर आउट भए भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। नेपालको पालीमा दिपेन्द्रसिंह ऐरीले २३ रन जोड्दा सोमपाल कामीले ११ रन बनाए। त्यस्तै शरद भेषवाकर ७ रनमा आउट हुँदा विनोद भण्डारी ९ रनमा पेभिलियन फर्किए।
नेपालको पालीलाई सस्तैमा समेटन् सिंगापुरका सेलाडोर विजयकुमारले ४ विकेट तथा जनक प्रकाश, अनन्थ कृष्णले १र१ विकेट लिए। नेपाललाई हराएको सिंगापुरले यही अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा सहभागिता जनाउने छ। १४ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा शीर्ष ६ स्थान हात पार्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छानिनेछन्।