साउन १५, काठमाडौँ । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ बेल म्युनिख भ्रमणका लागि फिट नभएको बताएका छन् । म्युनिखमा टोटेनहमसंग मैत्रिपूर्ण म्याच खेल्न आएका जिदानले फिटनेसका कारण बेललाई भ्रमणमा नराखिएको प्रष्ट पारेका छन् ।
बेलले म्युनिखमा भएको खेल गुमाएका थिए । सो खेल मड्रिड क्लबले १–० ले हारेको थियो । बेल चीनियाँ क्लब जाने सम्भावनालाई अन्त्य गर्दै रियलले उनलाई क्लबमै राख्ने निर्णय गरेको थियो ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई चीनियाँ क्लब जान रोकेका थिए । प्रशिक्षक जिदानले यसअघि बेलले क्लब छाड्नु सबैका लागि राम्रो हुने बताएका थिए ।
उनी म्युनिख भ्रमणका लागि सही अवस्थामा थिएनन् ।
तर जिदानले भने, ‘उनी भ्रामणमा आएनन्, कारण उनी फिट थिएनन् ।’
‘चिकित्सकसंगको सल्लाहपछि उनलाई मड्रिडमै छाड्न उपयुक्त देखियो । उनी मड्रिडमा अभ्यास गरिरहेका छन् । यो चिकित्सक, प्रशिक्षक र खेलाडीको संयुक्त निर्णय हो ।’ उनले भने ।
बेलले रियलबाट २ सय ३१ खेलमा १ सय २ गोल गरेका छन् । तर उनी जिदानको नजरबाट बाहिर छन् । जिदानले पछिल्लो साता बेल क्लब छाड्ने अन्तिम चरणमा रहेको बताएका थिए । एजेन्सी