तेह्रौं दक्षिण एसियाली खेलकुदको अनुगमन गर्न संसदीय उपसमिति गठन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १९, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । संसदीय समितिले मंसिरमा नेपालमा आयोजना हुने तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को तयारीबारे अनुगमन गर्न संसदीय उपसमिति गठन गरेको छ ।

आइतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरीक्षण गर्न सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा श्रेष्ठसहित नविना लामा, नारायण मरासिनी, नमिता चौधरी र गजेन्द्र महत छन् । बैठकमा सागको आयोजना सुस्त भएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका थिए ।

संयोजक श्रेष्ठले सागको आयोजना राष्ट्रिय गौरवको विषय भएको भन्दै समितिले रिपोर्ट तयार पारिरहेका अवस्थामा थप सघाउनका लागि उपसमिति बनाइएको बताए । उनले सागको तयारीका विषयमा भइरहेका सबै गतिविधिको निरीक्षण गरी कुनै कमीकमजोरी भए निर्देशन दिन सक्ने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले सागको आयोजना सम्पन्न नहुन्जेल उपसमितिले निगरानी गरिरहने बताए ।

मंसिर ९ देखि १८ गतेसम्म आयोजना हुने सागको तयारी तीव्र रुपले भइरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले बताए । उनले भौतिक पूर्वाधार बनिरहेको र खेलाडीहरुको बन्द प्रशिक्षण पनि सुरु भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस