भदौ २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण २०, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन गर्ने भएको छ ।

तेस्रो नेपाल पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रूतगतिमा अघि बढेको छ । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाईसीएनसी) समेतको सहकार्यमा ‘दीगो विकासका लागि मजबूत पूर्वाधार’को मूल भावसहित आयोजना गर्न लागेको सम्मेलन सरकारले गत वर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।

लगानी सम्मेलनका क्रममा भएका कानूनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने आयोजकले अपेक्षा राखेको छ ।

अघिल्ला २ पूर्वाधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वाधारको अवस्था तथा अबको पूर्वाधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत् तथा गहन अध्ययन गर्नुपर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरी परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पूरा भई प्रतिवेदन तयार भएको छ । तेस्रो पूर्वाधार सम्मेलनमा प्रतिवेदन सार्वजनिक हुनेछ ।

सम्मेलनको तयारीबारे जानकारी दिन आइतवार परिसंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘पूर्वाधारमा गरिने उच्च लगानीको ‘मल्टिप्लायर इफेक्ट’ अर्थात् बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वाधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसर प्राप्त भइरहेका छन् । सम्मेलनमार्फत पूर्वाधारमा लगानी बढाउने अवसर लिन लगानीकर्ताले ध्यान केन्द्रित गर्ने छन् ।’

पूर्वाधारको आवश्यकता तथा विकासमा प्रदेशले देखाएको अग्रसरता तथा लक्ष्यलाई पनि सम्मेलनले महत्वका साथ समेट्ने अध्यक्ष मोरले बताए । सम्मेलनको पूर्वतयारी स्वरुप प्रादेशिक पूर्वाधार सम्मेलन आयोजना भइरहेका छन् । प्रादेशिक पूर्वाधार सम्मेलनको निष्कर्ष पनि सम्मेलनको आकर्षण रहने छ । २ दिनसम्म सञ्चालन गरिने पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशका ५ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता एवं दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुङ सो विशेष अतिथिका रुपमा रहनेछन् भने भारतबाट समेत वरिष्ठ मन्त्री र लगानीकर्तालाई आमन्त्रण गरिएको छ ।

सातै प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सम्बन्धित एवं प्रदेशका मन्त्री, विकास साझेदारका प्रमुख, उपप्रमुखका साथै विकास साझेदार संस्था विश्व बैंक, एसियन विकास बैैंक, युरोपियन युनियन, डब्लूडब्लूएफ लगायतका संस्थाले सम्मेलनमा भाग लिने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस