साउन २२, काठमाडौँ । रियल म्याड्रिडबाट बाहिरिने तर्खरमा रहेका फरवार्ड ग्यारेथ बेललाई जर्मन च्याम्पियन बायर्न म्युनिखले लोनमा अनुबन्धन गर्ने इच्छा देखाएको छ ।
प्रशिक्षक जिनेदिन जिदानले आफ्नो योजनामा नरहेको भन्दै बेललाई लगातार रियल म्याड्रिड टोलीमा समेटेका छैनन् । यता क्लब व्यवस्थापनले भने बेललाई सकेसम्म टोलीमा राख्न आग्रह गरिरहेका छन् । गत साता मात्र बेलले चिनिया क्लबसँग व्यक्तिगत सम्झौता गरेपनि क्लबले अन्तिम समयमा बेललाई नछाड्ने बताएको थियो ।
बायर्न र रियलबीच मैदानबाहिर राम्रो सम्बन्ध रहेको छ । सन् २०१७ मा रियलले बायर्नलाई हामीस रोड्रीग्वेज लोनमा दिएको थियो । उक्त सम्झौता पूरा गरेर हामेस यसै सिजन रियल फर्किएका छन् । त्यसबेला बायर्नले रियललाई १३ मिलियन युरो र हामेसको तलब तिर्ने सम्झौता गरेको थियो ।
जिदानले बेललाई आफ्नो योजनामा नराख्ने भनिरहँदा बेलले पनि पछिल्लो समय रियल छाड्ने संकेत दिएका छन् । चीनको क्लबसँग सम्झौता गर्नुले पनि उनी क्लब छाड्न तयार रहेको संकेत दिन्छ । इंग्ल्यान्ड फर्कने हल्ला चलेपनि उनको एजेन्टले त्यसको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।