साउन २४, धादिङ । धादिङको सलाङघाटबाट बिहान त्रिशूली नदीमा बस खस्दा हराइरहेकाको खोजी भइरहेको छ । सर्लाहीबाट ४० जना यात्रु, चालक र सहचालक गरी ४२ जना लिएर हिँडेको बसमा बीचमा पनि यात्रु थपिएको घाइतेहरुले बताएका छन् ।
दुर्घटनामा घाइते समिनराजा अन्सारीले बसमा चालकसहित ५० जना जति यात्रु रहेको जानकारी दिनुभयो । घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हराइरहेकाको खोजी गरिरहेका छन् ।
दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।