साउन २५, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले रमण–पप्पु जेभीलाई नयाँ खरिद प्रक्रियामा रोक लगाएको छ।
हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जोइन्ट भेन्चर (जेभी) लाई कालोसूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद कार्यालयले सूचना जारी गर्दै तत्कालका लागि यो जेभीलाई नयाँ ठेक्कामा रोक लगाएको हो।
निर्देशनालयले असार २० मा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै यो जेभीलाई कालोसूचीमा राख्न भनेको थियो।
कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएकाले तत्काल कुनै पनि नयाँ ठेक्का लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
‘निर्माण व्यवसायीको कालोसूचीसम्बन्धी कारबाही प्रक्रिया यस कार्यालयबाट टुंगो नलागेसम्म सार्वजनिक निकायको नयाँ खरिद कार्यमा भाग लिन नपाउने गरी रोक लगाइएको छ,’ कार्यालयले सार्वजनिक गरेको सूचनामा भनिएको छ।