गजुरीमा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई मजदुरको मृत्यु, आक्रोसित स्थानीयले तीन डोजरमा आगो लगाईदिए

Post Thumbnail

साउन २५,धादिङ । जिल्लाको गजुरी गाउँपालिका–६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न पुगेका थिए ।

मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँदै आइरहेका थिए । अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।

घट्ना स्थलदेखि झण्डै १ किलोमिटरको दुरीमा राखिएको डोजरमा स्थानीयबासीले आगो लगाइदिएको नायव निरीक्षक खड्काले बताए ।

पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस